- रुसमा तीन दिने संसदीय निर्वाचनका लागि मतदान सुरु ।
- ड्यूमाका ४५० सिटका लागि आइतबारसम्म मतदान ।
- युक्रेन युद्धपछि पहिलो संसदीय निर्वाचन हुँदै ।
मस्को । रुसमा तीन दिने संसदीय निर्वाचनअन्तर्गत सुदूरपूर्वी क्षेत्रमा शुक्रबार बिहानदेखि मतदान सुरु भएको छ ।
युक्रेनसँगको युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला यो निर्वाचन हुन लागेको हो । सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमा सेना पठाएपछि रुसमा हुन लागेको यो पहिलो संसदीय निर्वाचन हो ।
कडा नियन्त्रणबीच हुन लागेको निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको दल ‘युनाइटेड रसिया’को विजय निश्चितजस्तै देखिएको बताइएको छ । पुटिन र क्रेमलिनको सैन्य अभियानलाई समर्थन गर्ने दलहरू मात्रै निर्वाचनमा दर्ता भएका छन् ।
रुसले कब्जा गरेको युक्रेनका क्षेत्रमा समेत मतदानको व्यवस्था गरिएको छ । युनाइटेड रसिया पार्टी पुनः सहजै विजयी हुनेमा रुसमा धेरैले शङ्का नगरे पनि यो निर्वाचन क्रेमलिनका लागि युक्रेन युद्धप्रति जनसमर्थन मापन गर्ने अवसरका रूपमा हेरिएको छ ।
यस वर्ष युद्धको प्रभाव रुसभित्र पनि पहिलेभन्दा बढी महसुस हुन थालेको छ । मस्कोका मेयर सेर्गेई सोब्यानिनले शुक्रबार राजधानीतर्फ आउने दर्जनौँ युक्रेनी ड्रोन नष्ट गरिएको बताउनुभएको छ ।
उहाँले टेलिग्राममार्फत सेप्टेम्बर १७ को साँझ ८ बजेदेखि सेप्टेम्बर १८ को बिहान ७ बजेसम्म मस्को क्षेत्रतर्फ ३५० भन्दा बढी ड्रोन उडेको जानकारी दिनुभएको छ ।
आक्रमणका लागि पठाइएका अधिकांश ड्रोन बाहिरी रक्षा परिधिमै नष्ट गरिएको र केही शहर नजिक आइपुगेका ड्रोन निष्क्रिय पारिएको उहाँले बताउनुभएको छ ।
रुसको तल्लो सदन ड्यूमाका ४५० सिटका लागि नयाँ जनादेश लिन भइरहेको मतदान आइतबारसम्म जारी रहनेछ ।
राष्ट्रपति पुटिनले सन् १९९९ को नयाँ वर्षको पूर्वसन्ध्यादेखि रुसको शासनमा निरन्तर प्रभाव राख्दै आउनुभएको छ । उहाँको युनाइटेड रसिया पार्टीले सन् २००० को दशकको सुरुदेखि रुसी राजनीतिमा प्रभुत्व जमाउँदै आएको छ ।
मस्कोले युक्रेन युद्धको आलोचनामाथि प्रतिबन्ध लगाएको छ । क्रेमलिनको कडा नियन्त्रणमा हुने रुसी निर्वाचनले धेरै आश्चर्य नल्याउने विश्लेषकहरूको बुझाइ रहेको छ ।
पुटिनका लागि भावनात्मक रूपमा महत्वपूर्ण मानिने युनाइटेड रसिया पार्टीले रसियन कम्युनिस्ट पार्टी, राष्ट्रवादी एलडीपीआर, अ जस्ट रसिया र न्यू पिपल्स पार्टीसँग प्रतिस्पर्धा गर्दैछ । यी दलहरूले पुटिनका अधिकांश नीति तथा युक्रेन युद्धलाई समर्थन गर्दै आएका छन् ।
युनाइटेड रसियाका प्रमुख व्यक्तिमध्येका लेभ श्लोस्बर्गलाई भने युक्रेन युद्धको आलोचना गरेको आरोपमा जेल हालिएको छ । एएफपी
