- सी-ट्रम्प भेटअघि इरानी विदेशमन्त्री चीनमा ।
- वाङ यीसँग अमेरिका-इरान द्वन्द्वबारे वार्ता हुने ।
- चीनमाथि इरानलाई स्याटेलाइट तस्बिर दिएको आरोपको खण्डन ।
बेइजिङ । इरानका विदेशमन्त्री अब्बास अराघची यसै साता चीन भ्रमणमा जानुहुने भएको छ । भ्रमणका क्रममा उहाँले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्नुहुने चीनको विदेश मन्त्रालयले मङ्गलबार जनाएको छ ।
मन्त्रालयका अनुसार दुई विदेशमन्त्रीबीच बुधबार वार्ता हुनेछ । उहाँहरूबीच गत साता नयाँ दिल्लीमा आयोजित ब्रिक्स सम्मेलनका क्रममा साइडलाइन भेटवार्ता भएको थियो ।
अमेरिका र इरानबीच महिनौँदेखि जारी द्वन्द्व अन्त्यका लागि मध्यस्थताको प्रयास गरिरहेको चीनमा अराघचीको भ्रमण हुन लागेको हो । चीन इरानको प्रमुख आर्थिक साझेदारमध्ये एक हो । चीनले इरानबाट ठूलो परिमाणमा तेल खरिद गर्दै आएको छ भने कूटनीतिक रूपमा पनि तेहरानलाई महत्वपूर्ण समर्थन गर्दै आएको छ ।
दुई विदेशमन्त्रीबीचको वार्ता चिनियाँ राष्ट्रपति सी जिनपिङको वासिङ्टन भ्रमणको ठीक एक साताअघि हुन लागेको हो । सीले उक्त भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
सी-ट्रम्प भेटवार्तामा व्यापार र कृत्रिम बुद्धिमत्ता (एआई)सम्बन्धी प्रतिस्पर्धालगायतका जटिल मुद्दासँगै अमेरिका–इरान द्वन्द्व पनि प्रमुख चासोको विषय बन्ने अपेक्षा गरिएको छ ।
यसैबीच, जोर्डनमा अमेरिकी सेना रहेको सैन्य आधारमा इरानी आक्रमण हुनुअघि र पछि चीनका निकायले तेहरानलाई स्याटेलाइट तस्बिर उपलब्ध गराएको भन्ने हालैका समाचारलाई बेइजिङले खण्डन गरेको छ । उक्त आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार नियमित पत्रकार सम्मेलनमा चीनमाथि लगाइएका आरोपको खण्डन गर्दै प्रमाणविहीन शङ्का र आरोपको विरोध गर्नुभयो ।
‘वाल स्ट्रिट जर्नल’मा प्रकाशित उक्त समाचारले आगामी साता हुने भनिएको सी–ट्रम्प भेटवार्ताअघि वासिङ्टन र बेइजिङबीचको तनाव थप बढ्न सक्ने आशङ्का जन्माएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई इरानलाई हतियार नबेच्न चेतावनी दिँदै आउनुभएको छ । यसअघि वासिङ्टनले इरानको सैन्य गतिविधिलाई सहयोग गरेको आरोपमा मे महिनामा चीनमा आधारित तीन स्याटेलाइट कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो । एएफपी
