RayNewsDaily
ब्रिक्स शिखर सम्मेलनअघि मोदी-पुटिन भेटमा व्यापार, ऊर्जा र रक्षाबारे छलफल
ब्रिक्स शिखर सम्मेलनका क्रममा शुक्रबार नयाँ दिल्लीमा भेटवार्ता गर्दै हात मिलाउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । तस्बिर : एएफपी
  • नयाँ दिल्लीमा मोदी र पुटिनबीच भेटवार्ता ।
  • व्यापार, ऊर्जा र रक्षाबारे छलफल ।
  •  ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन पुटिन भारतमा ।

 

नयाँ दिल्ली ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटमा व्यापार, ऊर्जा र रक्षालगायत विषयमा छलफल भएको छ ।

राष्ट्रपति पुटिन भोलिबाट सुरु हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आउनुभएको हो ।

मस्को नयाँ दिल्लीको महत्वपूर्ण रणनीतिक साझेदार तथा सैन्य आपूर्तिकर्ता हो । भारतीय टेलिभिजनमा सार्वजनिक दृश्यमा दुवै नेता नयाँ दिल्लीस्थित सम्मेलन केन्द्रमा हाँस्दै, एकअर्काको पिठ्यूँमा धाप मार्दै र अँगालो हाल्दै गरेको देखिएका छन् ।

अमेरिका-इरान युद्धका कारण उत्पन्न ऊर्जा सङ्कटमा भारतले रुसतर्फ ध्यान दिएको छ । युक्रेनमा रुसको युद्ध र वासिङ्टनलगायत पश्चिमी देशको दबाबका बाबजुद भारतले रुसी तेल खरिद गर्दै आएको छ ।

राष्ट्रपति पुटिन सन् २०२५ डिसेम्बरमा भारत आउनुभएको थियो । यस महिनाको सुरुमा किर्गिस्तानको बिस्केकमा भएको शाङ्घाई सहयोग सङ्गठनको बैठकमा पनि दुवै नेता भेट्नुभएको थियो । त्यहाँ प्रधानमन्त्री मोदीले पुटिनलाई ‘अनन्त युद्धबाट युद्धको अन्त्यतिर अघि बढ्न’ आग्रह गर्नुभएको थियो ।

मध्यपूर्व युद्ध सुरु भएपछिका हप्ताहरूमा मार्चमा भारतीय रिफाइनरीहरूले रुसबाट कच्चा तेलको आयात झण्डै दोब्बर बनाएका थिए । प्रतिबन्धमा अस्थायी अमेरिकी छूटले यसमा सहयोग पुगेको थियो ।

व्यापारिक सूचना कम्पनी केप्लरका अनुसार जुनमा रुसी कच्चा तेलको आयात दैनिक २७ लाख १० हजार ब्यारेल पुगेको थियो । जुलाईमा यो बढेर दैनिक २८ लाख १० हजार ब्यारेलको उच्चस्तरमा पुगेको थियो । अगस्टमा भने घटेर दैनिक २० लाख ७० हजार ब्यारेलमा झरे पनि आयातको मात्रा अझै महत्वपूर्ण रहेको छ ।

भारतीय सरकारी तथ्याङ्कअनुसार सन् २०२५/२६ मा भारत र रुसबीचको वस्तु व्यापार ५९.९ अर्ब अमेरिकी डलर पुगेको थियो । भारतले ४.४९ अर्ब डलरको निर्यात गर्दा ५५.३७ अर्ब डलरको आयात गरेको थियो । एएफपी

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update