- इरानको भूमिगत केन्द्रमा गतिविधि देखिएको ट्रम्पको भनाइ ।
- अमेरिकाले कडा सैन्य कारबाही गर्न सक्ने चेतावनी ।
- पिकएक्स माउन्टेन नतान्ज आणविक केन्द्रनजिक रहेको क्षेत्र हो ।
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पिकएक्स माउन्टेनमा देखिएको गतिविधिबारे चेतावनी दिँदै अमेरिकाले उक्त क्षेत्रमा सैन्य आक्रमण गर्न सक्ने बताउनुभएको छ ।
रिपब्लिकन पार्टीको मध्यावधि निर्वाचनसम्बन्धी सम्मेलनमा बुधबार सम्बोधन गर्दै ट्रम्पले पिकएक्स माउन्टेनमा केही गतिविधि देखिएको बताउँदै इरानलाई थप उत्तेजक गतिविधि नगर्न चेतावनी दिनुभएको हो ।
ट्रम्पले इरानले थप गतिविधि गरे अमेरिकाले कडा जवाफ दिने बताउनुभएको छ । उहाँले इरानलाई सावधानी अपनाउन आग्रह गर्दै आवश्यक परे पिकएक्स माउन्टेनमा आक्रमण गर्नुपर्ने अवस्था आउन सक्ने संकेत गर्नुभएको छ ।

पिकएक्स माउन्टेन इरानको नतान्जस्थित क्षतिग्रस्त युरेनियम प्रशोधन केन्द्रनजिक रहेको भूमिगत संरचना हो । उक्त क्षेत्रमा गहिराइमा बनाइएका दुईवटा सुरुङ परिसर रहेको बताइएको छ ।
इरानको आणविक कार्यक्रमसँग सम्बन्धित मानिएको उक्त क्षेत्रमा पछिल्लो समय निर्माण तथा अन्य गतिविधि बढेको स्याटेलाइट तस्बिरको विश्लेषणबाट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले समेत उक्त क्षेत्रबारे जानकारी र पहुँच मागेको भए पनि इरानबाट जवाफ नआएको बताइएको छ ।
ट्रम्पले यसअघि पनि पिकएक्स माउन्टेनमा आक्रमण गर्न सक्ने चेतावनी दिँदै आउनुभएको थियो । इरान र अमेरिकाबीचको बढ्दो सैन्य तनावका कारण पछिल्लो समय मध्यपूर्वको अवस्था थप जटिल बन्दै गएको छ ।
यसैबीच, इरान र अमेरिकाबीचको बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत प्रभाव पारेको छ । इरान र अमेरिकाबीच समुद्री क्षेत्रमा भएका पछिल्ला आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य १०० अमेरिकी डलर प्रतिब्यारेलभन्दा माथि पुगेको छ । एजेन्सी
