RayNewsDaily
अमेरिका-इरान तनाव चर्किँदा तेलको मूल्य १०० डलरनजिक
अमेरिका-इरान तनाव बढेपछि जोखिममा परेको होर्मुज जलडमरुमध्यमा तेल ट्यांकरहरू ।
  • अमेरिका-इरान तनाव थप चर्कियो ।
  •  अमेरिकी सेनाद्वारा पाँच इरानी तेल ट्यांकर ध्वस्त ।
  •  ब्रेन्ट कच्चा तेल १०० डलर प्रतिब्यारेलनजिक ।

दुबई । अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १०० डलर प्रतिब्यारेलनजिक पुगेको छ ।

अमेरिकी सेनाले इरानी तेल ट्यांकरमाथि आक्रमण गरेपछि इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य आधारलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । यससँगै मध्यपूर्वमा जारी द्वन्द्व थप फैलिन सक्ने र विश्व तेल आपूर्तिमा असर पर्न सक्ने चिन्ता बढेको छ ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डका अनुसार इरानी रिभोलुसनरी गार्डले अमेरिकी नौसेनाको युद्धपोतलाई दुई पटक क्षेप्यास्त्र प्रहार गर्ने प्रयास गरेपछि अमेरिकी सेनाले पाँच इरानी कच्चा तेल बोकेका ट्यांकर ध्वस्त पारेको हो । आक्रमणअघि ती जहाजका चालक दललाई बाहिर निस्कन निर्देशन दिइएको अमेरिकी पक्षले जनाएको छ ।

त्यसको जवाफमा इरानले जोर्डनस्थित अमेरिकी सैन्य आधारतर्फ क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । जोर्डनका अनुसार उसको हवाई सुरक्षा प्रणालीले अधिकांश क्षेप्यास्त्र रोकेको थियो । घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ ।

यसैबीच, इरानसमर्थित हुथी समूहले साउदी अरबका विभिन्न क्षेत्रमा आक्रमण गरेको छ । साउदी अधिकारीका अनुसार आक्रमणमा ७३ जना घाइते भएका छन् भने केही तेलसम्बन्धी संरचनामा समेत क्षति पुगेको छ ।

मध्यपूर्वमा बढ्दो सैन्य गतिविधिका कारण तेल आपूर्तिमा अवरोध आउन सक्ने आशंकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार चौथो दिन बढेको छ । बुधबार प्रारम्भिक कारोबारमा ब्रेन्ट कच्चा तेलको मूल्य १.४ प्रतिशतले बढेर ९९.३३ डलर प्रतिब्यारेल पुगेको थियो । अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य पनि ९४.३४ डलर प्रतिब्यारेल पुगेको छ ।

विशेषगरी विश्वको महत्वपूर्ण तेल ढुवानी मार्ग होर्मुज जलडमरुमध्य क्षेत्रमा सैन्य तनाव बढेमा विश्व बजारमा तेल आपूर्ति थप प्रभावित हुन सक्ने विश्लेषकहरूले बताएका छन् । यसले पेट्रोलियम पदार्थको मूल्य बढाउनुका साथै विश्वव्यापी मुद्रास्फीतिको दबाबसमेत बढाउन सक्ने चिन्ता देखिएको छ ।

मध्यपूर्वमा जारी द्वन्द्व करिब छ महिनादेखि चलिरहेको छ । पछिल्ला घटनाले तत्काल तनाव कम हुने सम्भावना कमजोर बनाएको र विश्व ऊर्जा बजारमा थप जोखिम सिर्जना गरेको विश्लेषकहरूको भनाइ छ । एजेन्सी

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update