RayNewsDaily
अमेरिकी आक्रमणपछि इरान आक्रामक, ‘कडा प्रहार’ गर्ने चेतावनी
  • अमेरिकी आक्रमणपछि इरानले प्रतिकार सुरु गरेको घोषणा 
  • अमेरिकी सैन्य आधारमाथि क्षेप्यास्त्र प्रहार गरेको इरानको दाबी 
  • इरानमा भएको अमेरिकी हमलामा ५४ जनाभन्दा बढी मारिएका तथा घाइते 

तेहरान । अमेरिकाले इरानका सैन्य लक्ष्यमाथि गरेको आक्रमणपछि इरानले प्रतिकार सुरु गरेको जनाएको छ । इरानी सैन्य नेतृत्वले अमेरिकाविरुद्ध निर्णायक र कडा प्रहार गर्ने चेतावनी दिएको छ ।

इरानको इस्लामिक रिभोलुसन गार्ड्सका अनुसार इरानी वायु रक्षा प्रणालीले अमेरिकी मानवरहित विमान खसालेको छ । इरानी हवाई तथा अन्तरिक्ष सेनाले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार तथा अन्य सैन्य संरचनामाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

इरानले मंगलबार दक्षिणी क्षेत्रमा भएको अमेरिकी हवाई हमलापछि प्रतिकार सुरु गरिएको जनाएको हो । इरानी पक्षका अनुसार उक्त हमलामा ५४ जनाभन्दा बढी मानिस मारिएका तथा घाइते भएका छन् ।

अर्धसरकारी समाचार संस्थाले स्थानीय अधिकारीलाई उद्धृत गर्दै होर्मोजगान प्रान्तको सिरिक जिल्लामा विवाह समारोहलाई लक्षित गरी गरिएको अमेरिकी हमलामा कम्तीमा चार जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा एक बालक र एक महिला छन् भने ५० भन्दा बढी घाइते भएको बताइएको छ ।

अमेरिकी सेनाको मध्यपूर्व कमाण्डले इरानी सैन्य लक्ष्यमाथि हमला सुरु गरेको घोषणा गरेपछि मंगलबार साँझ दक्षिणी इरानका विभिन्न क्षेत्रमा विस्फोटका आवाज सुनिएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । होर्मोजगान, सिस्तान तथा बलुचिस्तान, केरमान र बुशेहर प्रान्तका विभिन्न स्थानमा विस्फोट भएको खबर आएको छ ।

कोनाराक तथा क्युशम द्वीप आसपास पनि विस्फोट भएको बताइएको छ । तर, ती विस्फोटको वास्तविक स्थान र कारणबारे तत्काल स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन ।

यसैबीच, अमेरिकी सेनाको मध्यपूर्व कमाण्डले इरानी सैन्य लक्ष्यमाथि हमला सुरु गरिएको पुष्टि गरेको छ । उसका अनुसार इरानी सैन्य संगठनले होर्मुज जलडमरूमध्यमा व्यावसायिक पानीजहाज तथा मध्यपूर्वमा तैनाथ अमेरिकी सैनिकमाथि आक्रमणको प्रयास गरेपछि पछिल्लो सैन्य कारबाही गरिएको हो । एएफपी

 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update