- युद्ध नचाहने, आक्रमणको प्रतिकार गर्ने इरानको चेतावनी ।
- लाराकमा अमेरिकी आक्रमण, दुई प्रक्षेपण उपकरण ध्वस्त ।
- होर्मुजमा तनाव बढ्दा ऊर्जा आपूर्तिमा चिन्ता ।
तेहरान । इरान युद्ध नचाहने तर आफ्नो मुलुकमाथि कुनै पनि प्रकारको आक्रमण भए त्यसको दृढतापूर्वक प्रतिकार गर्ने राष्ट्रपति मसुद पेजेस्कियानले बताउनुभएको छ ।
राष्ट्रपति कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार पेजेस्कियानले इरानले युद्ध नचाहेको स्पष्ट सन्देश यसअघि नै अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्याइसकेको बताउनुभयो ।
उहाँले इरान शान्ति र स्थिरताको पक्षमा रहेको उल्लेख गर्दै आक्रमणका घटनाप्रति भने मौन नबस्ने बताउनुभयो ।
“हामी युद्ध चाहँदैनौँ । तर आक्रमणका अगाडि हामी निष्क्रिय भएर बस्ने छैनौँ र आक्रमणकारीलाई निर्णायक जवाफ दिनेछौँ”, उहाँले भन्नुभयो ।
पेजेस्कियानले क्षेत्रीय अस्थिरता र अशान्ति कुनै पनि देशको हितमा नरहेको बताउनुभयो । यस्तो परिस्थितिले क्षेत्रका सबै मुलुकलाई चुनौती दिने उल्लेख गर्दै उहाँले क्षेत्रीय देशहरूले आपसी सहकार्य र समन्वयमार्फत सुरक्षा तथा विकास सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
इरानको दक्षिणी लाराक द्वीप
इरानी राष्ट्रपतिको यो भनाइ अमेरिकी सेनाले इरानको दक्षिणी लाराक द्वीपमा आक्रमण गरेको बताइएको घटनापछि आएको हो ।
अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता टिम हकिन्सले जारी गरेको विज्ञप्तिअनुसार अमेरिकी सेनाले आइतबार लाराक द्वीपमा रहेका दुईवटा प्रक्षेपण उपकरणलाई निशाना बनाएको थियो । इरानको इस्लामिक रिभोल्युसन गार्ड कोर्प्सले होर्मुज जलडमरूमध्यमा समुद्री सुरुङसहितका रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएपछि उक्त कारबाही गरिएको अमेरिकी पक्षको दाबी छ ।
होर्मुज जलडमरू
घटनापछि इरानको इस्लामिक रिभोल्युसन गार्ड कोर्प्सले जारी गरेको विज्ञप्तिमा केही सैनिक तथा सर्वसाधारणको मृत्यु वा घाइते भएको जनाएको छ । साथै, घटनाको उचित जवाफ दिइने र आक्रमणकारीलाई दण्डित गरिने चेतावनी दिएको छ ।
होर्मुज जलडमरू विश्वका महत्वपूर्ण ऊर्जा तथा समुद्री व्यापारिक मार्गमध्ये एक भएकाले यस क्षेत्रमा बढ्दो तनावले क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा समेत प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ । सिन्ह्वा
