RayNewsDaily
जापानमा ५.९ म्याग्निच्युडको भूकम्प, ३७ जना घाइते
  • टोकियोसहित पाँच प्रिफेक्चरमा ३७ जना घाइते 
  • सुनामीको खतरा नरहेको अधिकारीको भनाइ 
  • थप भूकम्प आउन सक्ने भन्दै एक सातासम्म सतर्क रहन आग्रह 

टोकियो । जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प जाँदा टोकियोसहित पाँच प्रिफेक्चरमा कम्तीमा ३७ जना घाइते भएका छन् । जापानी अधिकारीले भूकम्पपछि सुनामीको खतरा नरहेको बताएका छन् ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रबिन्दु दक्षिणी इबाराकी प्रान्तमा ७० किलोमिटर गहिराइमा रहेको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणले भने भूकम्पको तीव्रता ५.८ म्याग्निच्युड रहेको जनाएको छ ।

Japan-map-1724660880.JPG
प्रिफेक्चरल अधिकारी तथा अग्नि तथा विपद् व्यवस्थापन निकायका अनुसार टोकियोमा १५, साइतामामा नौ, कानागावामा आठ, चिबामा चार र इबाराकीमा एक जना घाइते भएका छन् । अधिकांश घाइते भूकम्पका क्रममा लड्दा वा फर्निचर तथा ढोकामा ठोक्किँदा चोट लागेको जनाइएको छ ।

कानागावा प्रान्तको योकोहामामा ८० वर्षीया एक महिला ओछ्यानबाट लडेर गम्भीर घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पका कारण टोकियो र नारिता विमानस्थल जोड्ने एक्सप्रेस रेल तथा उत्तरपूर्वी क्षेत्रमा सञ्चालन हुने केही स्थानीय रेल सेवामा ढिलाइ भएको थियो । यद्यपि, शिन्कानसेन बुलेट रेल सेवा भने सामान्य रूपमा सञ्चालन भएको पूर्वी जापान रेलवे कम्पनीले जनाएको छ ।

प्रधानमन्त्री साने ताकाइचीले सम्भावित क्षतिको मूल्याङ्कन गर्न सरकारले कार्यदल गठन गरेको बताउनुभएको छ । जापान मौसम विज्ञान एजेन्सीले प्रभावित क्षेत्रका बासिन्दालाई आगामी एक सातासम्म थप मध्यम खालका भूकम्प आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

टोकियोको कोटो वार्डमा भूमिगत पानीको पाइप फुट्दा सडकमा पानी बगेको थियो । पाइप मर्मत गरी चुहावट रोकिएको जनाइएको छ ।

आणविक नियमन प्राधिकरणका अनुसार देशका आणविक ऊर्जा केन्द्र तथा अन्य आणविक सामग्रीसम्बन्धी सुविधाबाट कुनै असामान्य अवस्थाको जानकारी प्राप्त भएको छैन । एपी

 

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update