- स्वेज नहर प्रभावित भएपछि आर्कटिक समुद्री मार्गमा चासो बढ्यो ।
- नर्दन सी रुटबाट समुद्री दूरी ३०-४० प्रतिशतसम्म घट्न सक्ने ।
- सन् २०३० सम्म पनि व्यावसायिक सम्भावना सीमित रहने विज्ञको निष्कर्ष ।
पेरिस । युरोप र एसियाबीचको समुद्री व्यापारमा स्वेज नहरको विकल्पका रूपमा आर्कटिकको ‘नर्दन सी रुट’प्रति चासो बढेको छ । तर विज्ञहरूले निकट भविष्यमा यो मार्गले परम्परागत समुद्री मार्गलाई ठूलो मात्रामा विस्थापित गर्ने सम्भावना नरहेको बताएका छन् ।
खाडी क्षेत्रमा जारी अशान्तिका कारण लाल सागर र बाब अल-मन्देब जलसन्धि हुँदै हुने जल यातायात प्रभावित भएपछि धेरै ढुवानी कम्पनीले स्वेज नहरको प्रयोग घटाएका छन् । उनीहरूले अफ्रिकाको दक्षिणी भागस्थित ‘केप अफ गुड होप’ हुँदै जहाज सञ्चालन गर्दा यात्रा समय, इन्धन खर्च र कार्बन उत्सर्जन बढेको छ ।
यसको तुलनामा नर्दन सी रुट प्रयोग गर्दा स्वेज नहरको तुलनामा दूरी ३०-४० प्रतिशत र केप अफ गुड होप हुँदै जाने मार्गको तुलनामा करिब आधा घटाउन सकिने क्रेडिट बीमा समूह ‘कोफेस’ले जनाएको छ ।
तर फ्रान्सको सेन्ट-नाजेरस्थित हायर इन्स्टिच्युट अफ मेरिटाइम इकोनोमिक्स (आइएसइएमएआर)का निर्देशक पल टुरेटका अनुसार नर्दन सी रुट मुख्यतः अगस्टदेखि अक्टोबरसम्म मात्र प्रयोग गर्न सकिन्छ । बरफमा सञ्चालन गर्न सकिने विशेष ‘आइस-क्लास’ जहाज आवश्यक पर्ने भएकाले यो मार्गको लागतसमेत बढी हुन्छ ।
जलवायु परिवर्तनका कारण आर्कटिक क्षेत्रमा हरेक वर्ष लामो समयसम्म बरफ पग्लिन थालेपछि चीन र दक्षिण कोरियाका कन्टेनर जहाजले आगामी सातामा रुसी जल क्षेत्र हुँदै नर्दन सी रुटको सम्भाव्यता परीक्षण गर्ने तयारी गरेका छन् । यद्यपि, ठूला कन्टेनर जहाजका लागि यो मार्ग अझै आकर्षक नरहेको विज्ञहरूको भनाइ छ ।

फ्रान्सेली समुद्री ढुवानी विशेषज्ञ जेरोम डे रिकल्सका अनुसार निङ्बोबाट युरोपतर्फ नर्दन सी रुट हुँदै यात्रा सुरु गरेको चिनियाँ कन्टेनर जहाज ‘दुबई टावर’को क्षमता ठूला कन्टेनर जहाजको तुलनामा करिब एक-दशांश मात्र छ ।
नर्दन सी रुट हुँदै यात्रा गर्ने अधिकांश कन्टेनर जहाजलाई रुसी आणविक शक्तिबाट सञ्चालित आइसब्रेकरको सहयोग आवश्यक पर्छ । बीमा समूह ‘एलियान्ज कमर्सियल’का अनुसार सन् २०२५ मा २३ वटा जहाजले उक्त मार्ग प्रयोग गरेका थिए । यो सङ्ख्या सन् २०२४ को १५ वटाभन्दा बढी भए पनि स्वेज नहर हुँदै दैनिक सञ्चालन हुने जहाजको तुलनामा निकै कम हो ।
मध्यपूर्वमा द्वन्द्व जारी रहे पनि सन् २०२६ को पहिलो छ महिनामा दैनिक करिब ३५ वटा जहाजले स्वेज नहर पार गरेका थिए । सन् २०२३ मा हुथी आक्रमण सुरु हुनुअघि यो सङ्ख्या दैनिक ५० भन्दा बढी थियो ।
‘कोफेस’का अनुसार पूर्वी एसिया, उत्तरी युरोप र उत्तरी अमेरिकाबीच हुने हालको समुद्री व्यापारको बढीमा ३.५ प्रतिशत मात्र आर्कटिक मार्गतर्फ सार्न सकिने सम्भावना छ ।

कोफेस अध्ययनकी अर्थशास्त्री इभ बारका अनुसार सन् २०३० सम्म पनि नर्दन सी रुटको व्यावसायिक सम्भावना अत्यन्त सीमित रहनेछ । यो मार्ग मुख्यतः कच्चा पदार्थको ढुवानीमा केन्द्रित हुने भए पनि तेल तथा तरल प्राकृतिक ग्यास बोक्ने जहाजका लागि केही हदसम्म आकर्षक हुनसक्ने अध्ययनले देखाएको छ । केही अवस्थामा यस्ता जहाजले ढुवानी लागत ४५-५० प्रतिशतसम्म घटाउन सक्ने जनाइएको छ ।
तर आर्कटिक क्षेत्रमा बढ्दो जल यातायातले वातावरणीय जोखिम निम्त्याउने चिन्ता पनि छ । जहाजबाट निस्कने कालो कार्बनले सूर्यको ताप सोस्ने भएकाले बरफ पग्लिने क्रम तीव्र हुनसक्ने तथा तेल चुहावटको जोखिम रहने विज्ञहरूको भनाइ छ ।
फ्रान्सको सीएमए-सीजीएम, स्विट्जरल्यान्डको एमएससी र जर्मनीको हापाग-लोयडलगायत ठूला पश्चिमी ढुवानी कम्पनीले उत्तरी समुद्री मार्ग प्रयोग नगर्ने प्रतिबद्धता जनाइसकेका छन् ।
समग्रमा नर्दन सी रुटले विश्वव्यापी व्यापारको वर्तमान संरचनामा तत्काल ठूलो परिवर्तन ल्याउने सम्भावना नरहेको अर्थशास्त्री बारको निष्कर्ष छ । रूस, चीन र अमेरिकाबीच बढ्दो रणनीतिक प्रतिस्पर्धाका कारण आर्कटिक जलमार्गप्रतिको चासो व्यावसायिकभन्दा राजनीतिक पक्षबाट बढी प्रेरित देखिएको उहाँको भनाइ छ ।
आइएसइएमएआरका टुरेटले पनि चिनियाँ र दक्षिण कोरियाली जहाजका परीक्षण यात्रालाई सीमित महत्वको घटना भन्दै एउटा चिनियाँ कन्टेनर जहाजको यात्राले मात्र ‘आइस सिल्क रोड’ निर्माण नहुने टिप्पणी गर्नुभएको छ ।एएफपी
