- इरानमाथि प्रतिबन्ध र दबाबले समस्या समाधान नहुने चीनको भनाइ ।
- राजनीतिक तथा कूटनीतिक माध्यमबाट समाधान खोज्न आग्रह ।
- संयुक्त राष्ट्रसङ्घको स्वीकृतिबिनाका एकपक्षीय प्रतिबन्धको चीनद्वारा विरोध ।
बेइजिङ । चीनले इरानमाथि अमेरिकी प्रतिबन्ध र दबाब बढाएर मध्यपूर्वको समस्या समाधान नहुने बताउँदै राजनीतिक तथा कूटनीतिक माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले शुक्रबार प्रतिबन्ध र दबाबले समस्या समाधान गर्न नसक्ने बताउनुभयो । उहाँले सम्बन्धित सबै पक्षलाई जिम्मेवार कदम चाल्दै वार्ता र कूटनीतिक माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शासनमाथि आर्थिक दबाब बढाउने चेतावनी दिँदै आउनुभएको छ । इरानले भने अमेरिकी अभियानलाई ‘आर्थिक आतङ्कवाद’ को संज्ञा दिँदै आएको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब बढाउने नीतिको बचाउ गर्दै चीनलाई पनि अमेरिकी अभियानमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।
त्यसको प्रतिक्रियामा प्रवक्ता लिनले चीनले अन्तर्राष्ट्रिय कानुनी आधार नभएका तथा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले अनुमोदन नगरेका एकपक्षीय प्रतिबन्धको विरोध गर्ने स्पष्ट पार्नुभयो । मध्यपूर्वको समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने चीनको धारणा रहेको उहाँले दोहोर्याउनुभयो । एएफपी
