RayNewsDaily
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार
  • चीन–अष्ट्रेलिया स्थानीय मुद्रा विनिमय सम्झौता थप पाँच वर्षका लागि नवीकरण ।
  • विनिमय सम्झौताको सीमा २२० अर्ब युआन पुर्‍याइयो ।
  • सम्झौता विस्तारले व्यापार, लगानी र वित्तीय स्थिरतामा सहयोग पुग्ने अपेक्षा ।

बेइजिङ । चीनको केन्द्रीय बैङ्क पिपुल्स बैङ्क अफ चाइना (पीबीओसी) र रिजर्भ बैङ्क अफ अष्ट्रेलिया (आरबीए)ले द्विपक्षीय स्थानीय मुद्रा विनिमय सम्झौता थप पाँच वर्षका लागि नवीकरण गरेका छन् । सम्झौताको अधिकतम सीमा बढाएर २२० अर्ब युआन (करिब ४६ अर्ब अष्ट्रेलियाली डलर) पुर्‍याइएको पीबीओसीले जनाएको छ ।

यसअघि सम्झौताको सीमा २०० अर्ब युआन (करिब ४१ अर्ब अष्ट्रेलियाली डलर) थियो । दुवै पक्षको सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने जनाइएको छ ।

पीबीओसीका अनुसार सम्झौता नवीकरण र सीमा विस्तारले दुई देशबीचको मौद्रिक तथा वित्तीय सहकार्य सुदृढ हुनुका साथै व्यापार र लगानी सहजीकरण तथा वित्तीय बजारको स्थिरतामा सहयोग पुग्नेछ ।

आरबीएका अनुसार सम्झौताअन्तर्गत आवश्यकताअनुसार दुवै केन्द्रीय बैङ्कले स्थानीय मुद्रा विनिमय गर्न सक्नेछन् । यसले विशेषगरी वित्तीय बजारमा दबाब वा अस्थिरता देखिएका बेला व्यापारिक भुक्तानी व्यवस्थापनमा सहयोग पुर्‍याउनेछ ।

चीन र अष्ट्रेलियाबीच सन् २०१२ मा पहिलोपटक यस्तो मुद्रा विनिमय व्यवस्था स्थापना भएको थियो । पछिल्लोपटक सन् २०२१ को जुलाईमा थप पाँच वर्षका लागि नवीकरण गरिएको थियो ।

चीनको भन्सार प्रशासनका अनुसार सन् २०२६ को पहिलो छ महिनामा दुई देशबीचको वस्तु व्यापार १३१ दशमलव पाँच अर्ब अमेरिकी डलर पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६ दशमलव नौ प्रतिशत बढी हो । यस अवधिमा अष्ट्रेलियाबाट चीनतर्फको आयात ४५ प्रतिशत बढेर ८९ दशमलव छ अर्ब अमेरिकी डलर पुगेको छ ।

चीन-अष्ट्रेलिया स्वतन्त्र व्यापार सम्झौता सन् २०१५ को डिसेम्बरदेखि कार्यान्वयनमा छ । सन् २०२५ को जुलाईमा दुवै देशले सम्झौताको समीक्षा संयन्त्र सक्रिय गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सिन्ह्वा

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update