RayNewsDaily
भीमफेदी जीप दुर्घटनामा छ जना घाइते, चार जनालाई उपचारका लागि काठमाडौं ल्याइयो
  • भीमफेदीमा स्कारपियो सडकबाट खोल्सामा खस्यो 
  • गम्भीर चार घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो 
  • मुख्य न्यायाधीशसहित छ जना सवार थिए 

रे समाचार/काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा स्कारपियो दुर्घटना हुँदा छ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थाका चार जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश ३-०१-००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा उच्च अदालत वीरगञ्ज इजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडु, उहाँकी पत्नी लक्ष्मी बडु, छोरासहित अन्य दुई जना घाइते भएका छन् । घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

अन्य घाइतेको अवस्था मध्यम रहेको छ । दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घाइतेलाई प्रारम्भिक उपचारका लागि भीमफेदी अस्पताल लगिएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update