- काभ्रेको खानीखोला-१ स्याउरीथलीमा जिप दुर्घटना ।
- सडकबाट २०० मिटर तल खस्दा दुईको मृत्यु ।
- तीन गम्भीर घाइते, बाक्लो कुहिरोले उद्धारमा समस्या ।
रे समाचार/काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१ स्याउरीथलीमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । सोमबार बिहान पनौती-तालढुङ्गा भित्री सडकखण्डमा जिप सडकबाट करिब दुई सय मिटर तल खसेको हो ।
दुर्घटनामा खानीखोला गाउँपालिका-४ का कलकबहादुर माझी र वडा नं. २ की पातलीमाया मोक्तानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते तीन जनाको पहिचान हुन बाँकी छ ।
घाइतेको उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिए पनि घटनास्थलमा बाक्लो कुहिरोका कारण अवतरण गर्न नसक्दा उद्धारमा समस्या भएको छ । घाइतेलाई एम्बुलेन्समार्फत बेथानचोक गाउँपालिका-५ कामीडाँडास्थित खेलमैदानसम्म ल्याएर त्यहाँबाट हेलिकप्टरमार्फत थप उपचारका लागि लैजाने प्रयास भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार कामीडाँडाबाट हेलिकप्टरमार्फत उद्धार गर्ने सम्भावनाबारे नेपाली सेनाले अध्ययन गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता रबिन विष्टका अनुसार घटनास्थलमा प्रहरी टोली परिचालन गरी उद्धार तथा घटनाको अनुसन्धान भइरहेको छ ।
प्रहरीले प्रारम्भिक रूपमा जिपको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
