RayNewsDaily
चीन-युरोप व्यापारमा नयाँ समुद्री मार्ग, आर्कटिक हुँदै कन्टेनर जहाज सञ्चालन
एआई निर्मित चित्र ।
  • चीनबाट आर्कटिक हुँदै युरोपतर्फ नयाँ समुद्री सेवा 
  • चीन-युरोप ढुवानी समय करिब आधा घट्ने अपेक्षा 
  • बढ्दो जहाज आवागमनले आर्कटिक बरफमा दबाब बढ्ने चिन्ता 

बेइजिङ । चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ प्रस्थान गरेको छ । नयाँ साप्ताहिक सेवाअन्तर्गत सञ्चालन हुने यो मार्गले चीन-युरोप समुद्री ढुवानीको समय करिब आधा घटाउने अपेक्षा गरिएको छ ।

‘दुबई टावर’ नामक जहाज शनिबार साँझ चीनको पूर्वी बन्दरगाह सहर निङ्बोबाट उत्तरी दिशातर्फ प्रस्थान गरेको हो । जहाज बेरिङ जलमार्ग हुँदै रुसको उत्तरी तटसँगैको आर्कटिक जलमार्गबाट पश्चिमतर्फ जानेछ ।

‘सी लेजेन्ड’को समयतालिकाअनुसार जहाज सेप्टेम्बर ७ मा बेलायतको फेलिक्सस्टो पुग्नेछ । त्यसपछि जर्मनीको ह्याम्बर्ग र पोल्याण्डको ग्दान्स्कमा रोकिनेछ ।

चीनबाट युरोप जोड्ने उत्तरी समुद्री मार्ग स्वेज नहर हुँदै जाने परम्परागत मार्गभन्दा छोटो छ । यसबाट लालसागर हुँदै जानुपर्ने बाध्यता हट्नेछ, जहाँ यमनका हुथी विद्रोहीले पछिल्ला वर्षमा व्यापारिक पानीजहाजलाई लक्षित गर्दै आएका छन् ।

तर आर्कटिक मार्ग वर्षको सीमित अवधिमा मात्र सहज रूपमा सञ्चालन गर्न सकिन्छ । समुद्री बरफ पग्लिएको समयमा आइसब्रेकरको सहयोगबिना समेत जहाज सञ्चालन गर्न सकिने भएकाले यसको प्रयोग मौसमी हुने गरेको छ ।

डेनमार्कको मास्र्क सन् २०१८ मा कन्टेनर जहाजमार्फत उत्तरी समुद्री मार्ग पार गर्ने प्रमुख ढुवानी कम्पनी बनेको थियो । व्यापारिक बीमाकर्ता एलियान्ज कमर्सियलको विश्लेषणअनुसार गत वर्ष २३ वटा कन्टेनर जहाजले यो मार्ग प्रयोग गरेका थिए, जुन सन् २०२४ मा १५ वटा थियो ।

वातावरणीय समूहहरूले भने आर्कटिकमा जहाजको आवागमन बढ्दा समुद्री बरफमाथि थप दबाब पर्ने चेतावनी दिएका छन् । विश्वव्यापी तापक्रम वृद्धिका कारण आर्कटिक क्षेत्रको बरफ यसअघि नै तीव्र रूपमा घटिरहेको उनीहरूको भनाइ छ ।

फ्रान्सको सीएमए सीजीएम, स्विट्जरल्याण्डमा मुख्यालय रहेको एमएससी र जर्मनीको हापाग-लोयडलयलगायत प्रमुख ढुवानी कम्पनीले आर्कटिक ट्रान्ससिपमेन्ट मार्ग प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।

विश्लेषकहरूले भने आर्कटिकलाई भविष्यमा महत्वपूर्ण विश्व व्यापार मार्गका रूपमा विकास गर्न सकिने बताएका छन् । चीनले ‘पोलर सिल्क रोड’ अवधारणामार्फत आर्कटिक क्षेत्रमा आफ्नो व्यापारिक पहुँच विस्तार गर्ने योजना अघि सारेको छ । एएफपी

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update