RayNewsDaily
हर्मुजलाई लिएर ट्रम्पको नयाँ दाबी : अमेरिकी भू-भाग बनाउने घोषणा
एआई निर्मित तस्वीर ।
  • इरानलाई पूर्ण रूपमा पराजित गर्ने ट्रम्पको दाबी ।
  • हर्मुजलाई अमेरिकी भू-भाग घोषणा गर्ने भनाइ ।
  • इरानको जवाफ - हर्मुज इरानी थियो, इरानी हो र इरानी नै रहने ।

गार्डेन सिटी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘पूर्ण रूपमा पराजित’ गरेपछि महत्वपूर्ण ऊर्जा ढुवानी मार्ग ‘स्ट्रेट अफ हर्मुज’लाई अमेरिकी भू-भागको हिस्सा घोषणा गर्ने दाबी गर्नुभएको छ ।

न्युयोर्क राज्यको एक प्रहरी एकेडेमीमा आयोजित राजनीतिक सभामा ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गरेपछि चाँडै स्ट्रेट अफ हर्मुजलाई संयुक्त राज्य अमेरिकाको भू-भाग घोषणा गर्ने बताउनुभएको हो । तर ‘वाल स्ट्रिट जर्नल’का अनुसार ह्वाइट हाउसका एक अधिकारीले ट्रम्पले उक्त टिप्पणी ठट्टाका रूपमा गरेको स्पष्ट पारेका छन् ।

इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पको भनाइको जवाफ दिँदै स्ट्रेट अफ हर्मुज इरानी थियो, इरानी हो र इरानी नै रहने बताउनुभएको छ । उहाँले इरानको निर्णयअनुसार मात्र उक्त जलमार्ग बन्द वा खुल्ने दाबी गर्नुभएको छ ।

मध्यपूर्वमा युद्ध सुरु भएपछि इरानले स्ट्रेट अफ हर्मुजको अधिकांश क्षेत्रमा व्यावहारिक नियन्त्रण कायम गरेको दाबी गरिएको छ । विश्वका प्रमुख ऊर्जा ढुवानी मार्गमध्ये एक रहेको यस जलमार्गलाई लिएर अमेरिका र इरानबीच तनाव बढेको छ ।

ट्रम्पले समर्थक र प्रहरीको भीडलाई सम्बोधन गर्दै अमेरिकाले जलमार्गमा नाकाबन्दी गरेको र आफ्नो इच्छाबिना कुनै पनि जहाज त्यहाँबाट जान नसक्ने दाबी गर्नुभएको छ । एएफपी

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update