RayNewsDaily
नुवाकोटमा रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुप्चेश्वर हिंडेका दुई तीर्थयात्रीको मृत्यु
एआई निर्मित सांकेतिक तस्वीर ।
  • बस दुर्घटनामा दुई जना तीर्थयात्रीको मृत्यु ।
  • तीन जना घाइतेको काठमाडौँमा उपचार ।
  • चालक प्रहरी नियन्त्रणमा ।

रे समाचार/नुवाकोट । नुवाकोटको टोखा-छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका-७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैँ गुडेर दुर्घटना हुँदा दुई जना तीर्थयात्रीको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

दुप्चेश्वर महादेवको दर्शनका लागि काठमाडौँबाट तीर्थयात्री लिएर आएको बा.प्र.०८-००१ ख ००५२ नम्बरको बस सडकछेउमा रोकिराखेको अवस्थामा आफैँ गुडेर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बस रोकेर चालक र यात्रुहरू खाजा खान गएको समयमा आफैँ गुडेको बसले अगाडि रोकिराखेको बा.प्र.०३-००१ ज ११७६ नम्बरको विद्युतीय भ्यानलाई समेत ठक्कर दिएको थियो । ठक्करपछि बस र भ्यान सडकबाट करिब ५० मिटर तल खसेका थिए ।

दुर्घटनामा काभ्रेको बनेपा नगरपालिका-८ की ५४ वर्षीया कृष्णमाया प्रजापती (डङ्गोल) र रामेछापको खाँडादेवी गाउँपालिका-२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते अवस्थामा उद्धार गरी काठमाडौँ पठाइएका उनीहरूको अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको हो ।

दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका-९ की २५ वर्षीया सुजता पोखरेल, काभ्रेको बनेपा नगरपालिका-१० की ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका-६ की ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन् । उनीहरूको काठमाडौँमा उपचार भइरहेको छ ।

दुर्घटनापछि बस चालक काभ्रेको पाँचखाल नगरपालिका-७ का सीताराम आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update