RayNewsDaily
नेपाल-चीन कूटनीतिक सम्बन्ध : ७१ वर्षको विश्वास, सहकार्य र रणनीतिक साझेदारी

 

  • दुई देशबीचको सम्बन्ध पारस्परिक सम्मान, सार्वभौमिक समानता, आपसी विश्वास तथा पारस्परिक लाभका सिद्धान्तमा आधारित
  • विगत ७१ वर्षमा भएका उच्चस्तरीय भ्रमण, द्विपक्षीय सम्झौता तथा नियमित राजनीतिक संवादले नेपाल–चीन सम्बन्धलाई थप मजबुत
  • सडक, स्वास्थ्य, शिक्षा, ऊर्जा तथा सार्वजनिक पूर्वाधार निर्माणका क्षेत्रमा चिनियाँ सहयोग उल्लेखनीय
  • बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) मा नेपाल सहभागी भएपछि पूर्वाधार, कनेक्टिभिटी तथा आर्थिक सहकार्यका नयाँ सम्भावनाहरू खुले

12-1785581234.jpgरमेश हतुवाली । 

नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्ष पूरा भएको छ। सन् १९५५ अगस्ट १ मा औपचारिक रूपमा स्थापित दुई देशबीचको सम्बन्ध पारस्परिक सम्मान, सार्वभौमिक समानता, आपसी विश्वास तथा पारस्परिक लाभका सिद्धान्तमा आधारित रहँदै निरन्तर सुदृढ हुँदै आएको छ। सात दशकभन्दा लामो यात्रामा नेपाल र चीनले असल छिमेकी, भरोसायोग्य मित्र तथा विकासका सहयात्रीका रूपमा आफ्नो सम्बन्धलाई नयाँ–नयाँ उचाइमा पुर्या एका छन्।

नेपाल र चीनबीचको सम्बन्ध केवल कूटनीतिक सीमामा मात्र सीमित छैन। इतिहास, संस्कृति, व्यापार, पर्यटन, शिक्षा, पूर्वाधार विकास तथा जनस्तरीय सम्बन्धसम्म यसको प्रभाव विस्तार भएको छ। हिमालयले जोडेको भौगोलिक निकटतासँगै बुद्ध धर्म, सांस्कृतिक आदान–प्रदान तथा ऐतिहासिक व्यापारिक सम्बन्धले दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाएको छ।

विगत ७१ वर्षमा भएका उच्चस्तरीय भ्रमण, द्विपक्षीय सम्झौता तथा नियमित राजनीतिक संवादले नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाएका छन्। दुवै देशका राष्ट्राध्यक्ष, प्रधानमन्त्री तथा उच्च सरकारी अधिकारीबीच भएका भेटवार्ता र सहकार्यले आर्थिक, व्यापारिक, पूर्वाधार तथा विकास साझेदारीलाई नयाँ गति दिएको छ।

नेपालको आर्थिक तथा भौतिक पूर्वाधार विकासमा चीनले लामो समयदेखि महत्वपूर्ण सहयोग गर्दै आएको छ। सडक, स्वास्थ्य, शिक्षा, ऊर्जा तथा सार्वजनिक पूर्वाधार निर्माणका क्षेत्रमा चिनियाँ सहयोग उल्लेखनीय मानिन्छ। भृकुटी कागज कारखाना, अरनिको राजमार्ग, पृथ्वी राजमार्गको निर्माणमा गरिएको सहयोग, निजामती अस्पताल, भरतपुर क्यान्सर अस्पताल लगायतका परियोजनाले नेपालको विकास यात्रामा महत्वपूर्ण योगदान दिएका छन्। यस्ता परियोजनाले नेपाली नागरिकको जीवनस्तर सुधार गर्न तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग पुर्यावएका छन्।

शिक्षाको क्षेत्रमा पनि चीन नेपालका प्रमुख साझेदारमध्ये एक हो। प्रत्येक वर्ष चिनियाँ सरकारले नेपाली विद्यार्थीलाई विभिन्न विषयमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। यसले दक्ष जनशक्ति उत्पादनका साथै दुई देशका युवाबीच आपसी समझदारी र मित्रतालाई थप मजबुत बनाएको छ।

व्यापार तथा लगानीका क्षेत्रमा पनि सहकार्य विस्तार हुँदै गएको छ। विशेषगरी चीनद्वारा अघि सारिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) मा नेपाल सहभागी भएपछि पूर्वाधार, कनेक्टिभिटी तथा आर्थिक सहकार्यका नयाँ सम्भावनाहरू खुलेका छन्। नेपालले आफ्नो राष्ट्रिय आवश्यकता, प्राथमिकता तथा हितलाई केन्द्रमा राखेर बीआरआईअन्तर्गतका परियोजनाबाट अधिकतम लाभ लिन सक्ने अपेक्षा गरिएको छ। विकास, व्यापारिक पहुँच र क्षेत्रीय सम्पर्क विस्तारका दृष्टिले यसलाई दुवै देशले महत्वपूर्ण अवसरका रूपमा हेरेका छन्।

राजनीतिक रूपमा पनि नेपाल र चीनबीचको सम्बन्ध विश्वासमा आधारित छ। चीनले नेपालको स्वतन्त्रता, सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सम्मान गर्दै आएको बताउँदै आएको छ भने नेपालले पनि "एक चीन" नीतिप्रति आफ्नो प्रतिबद्धता निरन्तर दोहोर्याउँदै व्यवहारमा कार्यान्वयन गर्दै आएको छ। यही पारस्परिक विश्वासले दुई देशबीचको सम्बन्धलाई स्थायित्व प्रदान गरेको छ।

विश्व परिवेशमा बढ्दो द्वन्द्व, शक्ति प्रतिस्पर्धा तथा भू–राजनीतिक तनावका बीच नेपाल र चीनले शान्तिपूर्ण सहअस्तित्व, संवाद र सहकार्यलाई प्राथमिकता दिँदै आएका छन्। रुस–युक्रेन युद्ध, इजरायल–प्यालेस्टाइन द्वन्द्व तथा मध्यपूर्व क्षेत्रमा देखिएका तनावले विश्व शान्ति र आर्थिक स्थायित्वमा नकारात्मक प्रभाव पारेको सन्दर्भमा दुवै देशले अन्तर्राष्ट्रिय विवादको समाधान वार्ता, कूटनीति तथा संयुक्त राष्ट्रसंघको सिद्धान्तअनुसार हुनुपर्ने धारणा व्यक्त गर्दै आएका छन्। विश्व शान्ति, स्थिरता र विकासप्रति दुवै मुलुकको प्रतिबद्धता साझा चासोको विषय बनेको छ।

नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनमा अझ व्यापक र परिणाममुखी बनाउने अवसर पनि प्रशस्त छन्। व्यापार सन्तुलन, पर्यटन प्रवर्द्धन, सीमापार पूर्वाधार, ऊर्जा, कृषि, प्रविधि, डिजिटल अर्थतन्त्र तथा जनस्तरीय सम्बन्ध विस्तारका क्षेत्रमा अझ प्रभावकारी सहकार्य गर्न सकिने सम्भावना देखिन्छ। साथै जलवायु परिवर्तन, विपद् व्यवस्थापन तथा दिगो विकासका साझा चुनौती समाधानमा पनि दुई देशले सहकार्य बढाउन सक्ने आधार बलियो छ।

७१ वर्षको यात्राले नेपाल–चीन सम्बन्ध समयको परीक्षामा सफल भएको मित्रताको उदाहरण प्रस्तुत गरेको छ। अब परम्परागत मित्रतालाई निरन्तरता दिँदै विकास र समृद्धिका साझा लक्ष्य हासिल गर्न चिरस्थायी मित्रतामा आधारित रणनीतिक साझेदारीलाई थप उचाइमा पुर्या उनु दुवै देशका लागि महत्वपूर्ण आवश्यकता बनेको छ। पारस्परिक सम्मान, समानता, विश्वास र साझा हितमा आधारित सहकार्यलाई अझ सुदृढ बनाउँदै नेपाल र चीनले भविष्यमा पनि आपसी सम्बन्धलाई नयाँ आयाम दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update