RayNewsDaily
नियमित कार्यसूचीमा प्रवेश नगरी प्रतिनिधिसभा बैठक स्थगित    

काठमाडौँ । प्रमुख प्रतिपक्षी दललगायतका विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधिसभाको आजको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।     
     
बैठकमा विपक्षी दलहरूले नेपाल-भारत सीमाका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको धारणाको सम्बन्धमा जवाफ माग गर्दै अवरोध गरेका थिए । सभामुख डोलप्रसाद अर्यालले पटक-पटक आसनग्रहण गरी बैठक सञ्चालनमा सहजीकरण गर्न विपक्षी दललाई आग्रह गर्नुभयो । सभामुखको सो आग्रहलाई विपक्षी दलहरूले अस्वीकार गर्दै विरोध जारी राखे ।     
     
त्यसपछि सभामुख अर्यालले बैठक बुधबार बिहान ११ः०० बजे बस्नेगरी स्थगित भएको जानकारी गराउनुभयो । आजको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची थियो ।     
     
त्यस्तै, सभामुख अर्यालले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनय गरेको व्यहोरा जानकारी गराउनुका साथै ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रियसभाबाट अवधिभित्र फिर्ता नभएको जानकारी गराउनुहुने कार्यक्रम थियो ।     
     
यस्तै, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची थियो ।     
     
साथै आव २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने र अर्थमन्त्री डा वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुने कार्यसूची थियो ।     
     
त्यसैगरी, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’, ‘नेपाल राष्ट्र बैंक(तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने कार्यक्रम थियो ।     
     
बैठकमा ‘सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले ‘राष्ट्रियसभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची थियो । रासस

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  १४:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update