RayNewsDaily
जनताले सरकारी अस्पतालमा सेवा पाउँदा राहत महसुस गर्नुपर्छः स्वास्थ्यमन्त्री मेहता

काठमाण्डू । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले आज वीर अस्पताल र सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको अनुगमन गर्नुभएको छ । अनुगमनपछि उहाँले सरकारी अस्पतालमा जनताले सेवा पाउँदा झन्झट नभई राहत महसुस गर्नुपर्ने बताउनुभयो । उहाँले अस्पतालमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था र सर्वसाधारणले भोग्नुपरेका सास्तीबारे जानकारी लिँदै मन्त्री मेहताले अस्पतालको सरसफाइ, बिरामीको चाप र लामा लाइन, औषधि अभाव, स्वास्थ्य बिमामा देखिएका जटिलतालगायत विषयका बारेमा प्रत्यक्ष अवलोकन गर्नुभयो । अनुगमनका क्रममा नागरिकहरूले स्वास्थ्य बिमाको लाभ लिन भोग्नुपरेका झन्झट र सामान्य औषधोपचारमा पनि घण्टौँ कुर्नुपर्ने समस्याका बारेमा मन्त्रीले चासो व्यक्त गर्नुभयो ।

अस्पताल प्रशासन र सम्बन्धित पदाधिकारीहरूलाई अस्पतालको सरसफाइमा ध्यान दिन, बिरामीको पालो व्यवस्थापनलाई प्रविधिमैत्री र सहज बनाउन तथा औषधि आपूर्तिमा देखिएका अवरोध तत्काल हटाउन निर्देशनसमेत दिनुभयो ।  रासस

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update