RayNewsDaily
एसइई परीक्षाफल प्रकाशित       

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ ।    
    
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा आज बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो । बोर्डले यसवर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर परीक्षाफल प्रकाशित गरेको छ ।    
    
विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत प्राप्ताङ्क हुनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम प्राप्ताकङ्क हुनेलाई ए, ७० देखि ८० भन्दा कम प्राप्ताङ्क हुनेलाई बी प्लस ग्रेड प्रदान गरिन्छ । साथै ६० देखि ७० भन्दा कम प्राप्ताङ्क हुनेलाई बी, ५० देखि ६० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी, ३० देखि ४० भन्दा कम प्राप्ताङ्क हुनेलाई डी प्लस, २० देखि ३० प्राप्ताङ्क हुनेलाई डी तथा २० भन्दा कम प्राप्ताङ्क हुनेलाई ई ग्रेड प्रदान गरिन्छ ।    
    
गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र संस्थागत विद्यालयका साधारणतर्फ कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो । परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले भाग लिएको बोर्डको भनाइ छ । बोर्डका अनुसार प्राविधिक धारतर्फ १५ हजार चार सय ६१ जना परीक्षार्थी थिए ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा गतवर्ष भन्दा सुधार भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईईको नतिजा गत वर्ष भन्दा सुधार भएको बताउनु भयो । उहाँका अनुसार ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या गत वर्ष ९ हजार ६३३ जना रहेकामा यसवर्ष २२ हजार ४७५ जना रहेका छन् । गत वर्ष यो संख्या कुल परीक्षार्थीको १.९४ प्रतिशत रहेकामा यस वर्ष बढेर ४.६३ प्रतिशत पुगेको शर्माले बताउनु भयो 

 

त्यस्तै ३.२ देखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या गत वर्ष कुल परीक्षार्थीको ८.४ प्रतिशत रहेकामा यस वर्ष बढेर ११.३६ प्रतिशत पुगेको छ । अध्यक्ष शर्माले कोभिड-१९ को महामारी सकिएपछि विद्यार्थीले पढ्ने समय पर्याप्त पाएकाले नतिजामा सुधार भएको बताउनु भयो।

विगतका वर्षहरुमा विद्यार्थीले कक्षाकोठामा नियमित उपस्थित हुन नपाएको र शिक्षक शिक्षिकासँग भौतिक रुपमा नै परामर्श गर्न नपाएकाले नतिजा कमजोर देखिएको उहाँको भनाइ छ । त्यस्तै विद्यालय र कक्षाकोठाकोअवस्था सुधार र परीक्षा प्रणालीमा आएको सुधारका कारण पनि नतिजा राम्रो आएको उहाँको दाबी छ । बोर्डले यस वर्षदेखि अंग्रेजी, गणित र विज्ञान विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गरेका कारणले नतिजा सुधार आएको उहाँको भनाइ छ ।

  

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update