RayNewsDaily
बाढीमा ४१ वटा पुल बगे, १० करोडभन्दा बढीको क्षति       
अविरल वर्षापछि शुक्रबार आएको बाढीले क्षति पुर्‍याएको घोराही उपमहानगरपालिका-५ को बबई नदीको पुल र सँगैको सडक । तस्बिर :रञ्जिता अधिकारी / रासस

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने रु १० करोडभन्दा बढीको क्षति भएको छ ।   

प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि आज विहानसम्म बाढीपहिरा परेर ९० जनाघाइते र पाँचजना वेपत्ता भएका छन् ।  बाढीपहिरोका कारण तीन सय ८१ पशु चौपायको मरेका, ९८ गोठमा क्षति भएको, पाँच सय ९५ घर विस्थापित भएका छन् । विपद् व्यवस्थापनका निम्ति पाँच हजार ४१ प्रहरी परिचालन गरिएको छ ।   

बाढीपहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अविरल वर्षाका कारण देशभर एक हजार २८ घटना भएका र त्यसबाट रु १० करोड १८ लाख ८५ हजार सात सय बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । रासस  

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update