RayNewsDaily
कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

रे समाचार/काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ  । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

संविधानको धारा १६८ को उपधार ५ बमोजिम बहुमत प्राप्त गर्ने आधार सहित दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको सूचनाको अवधिभित्रै कार्कीले दाबी पेस गरेपछि प्रदेश प्रमुख खापुङले हस्ताक्षर सनाखत गराई कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।कोशी प्रदेशमा तेस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीलाई आजै पद तथा गोपनीयताको शपथ गराउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको छ ।

कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न नेकपा (माओवादी केन्द्र)का १३ जना र एमालेका ३९ जना गरी ५२ जना सांसदले समर्थन गर्नुभएको छ ।पहिलो पटक २०७९ पुस २४ मा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातान्त्रि पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री बन्नुभएका कार्कीले केन्द्रमा सत्तासमीकरण फेरिएपछि २०८० असार १४ मा राजीनामा दिनुभएको थियो । सर्वोच्च अदालतको परमादेशपछि २०८० भदौ २२ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँले विश्वासको मत पाउने सम्भावना नभएपछि गत असोज २० गते पदबाट राजीनामा दिनुभएको थियो । त्यसको सात महिनापछि पुनः कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update