RayNewsDaily
सुन तस्करी प्रकरण : माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा       

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आज हाजिरी जमानीमा रिहा हुनुभएको छ ।    
    
महरालाई उहाँका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको टोलीले पूर्वसभामुख महराको आज बयान सकिएपछि उहाँलाई हाजिरी जमानीमा रिहा गरिएको हो ।    
    
यसअघि आजै ब्यूरोका प्रवक्ता बोगटीले जिल्ला सरकारी वकिल कार्यालय र ब्यूरोको टोलीले पूर्वसभामुख महराको बयान सकिएको जानकारी दिनुभएको थियो ।    
    
महरालाई गत सोमबार कपिलवस्तुबाट नेपाल प्रहरीले पक्राउ गरी काठमाडौँ ल्याएको थियो । महरालाई जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो ।    
    
सुनको अवैध तस्करी एवम् नियन्त्रणसम्बन्धमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित आयोगले महराविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा ब्यूरोले महरालाई पक्राउ गरेको थियो । रासस

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update