RayNewsDaily
दुग्ध किसानले पाउनुपर्ने रकम तत्काल भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन       

काठमाडौं । अर्थ मन्त्रालयले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आज राजस्व सचिव डा रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।    
    
उक्त निर्देशन दिनुअघि अर्थमन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा गोविन्प्रसाद शर्मा र पशुपक्षी विकास सचिव डा रेवतीरमण पौडेलसँग छलफल गर्नुभएको थियो ।    
    
आफ्नो उत्पादनको भुक्तानी नपाएको भन्दै केही महिनायता दुग्ध किसान आन्दोलनरत छन् । किसानलाई भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडीसी) ले अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो ।    
    
“किसानले दूधको भुक्तानी नपाएको अवस्थामा राज्य किसानका पीडा हेरेर बस्न सक्दैन । विगतमा जे कारणले रोकिएको भए पनि आजै वा आइतबारसम्म किसानको बक्यौता भुक्तानी हुन्छ”, पुनले निर्देशन दिँदै भन्नुभयो । निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी पनि अर्थ मन्त्रालयले नरोक्ने उहाँले स्पष्ट पार्नुभयो ।    
    
अर्थमन्त्री पुनका अनुसार कृषि मन्त्रालयको चालु आर्थिक वर्षको बजेटबाट समर्पण गराएर किसानको भुक्तानी दिइन लागिएको हो । चालु आर्थिक वर्षमा रु ५१ अर्ब बजेट रहेको कृषि मन्त्रालयले हालसम्म कूल बजेटको ५४ प्रतिशत मात्र खर्च गरेको छ । मन्त्री पुनले बजेट समर्पणका लागि आजै पत्राचार गर्न कृषिमन्त्री र सचिवहरुलाई आग्रह गर्नुभएको छ ।    
    
दुग्ध किसानका लागि अर्थमन्त्रीबाट स्पष्ट निर्देशन आएको र मन्त्रालयले क्रमशः दुग्ध किसानको बक्यौता भुक्तानी गर्दै जाने राजस्व सचिव डा घिमिरेले बताउनुभयो । रासस

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update