RayNewsDaily
सन्दर्भ विश्व रेडियो दिवस : दुर्गम बस्तीमा रेडियोको लोकप्रियता उस्तै   

फुङ्लिङ । सञ्चार क्षेत्रमा ठूलो परिवर्तन आएको छ । बिहान चियाको चुस्कीसँगै पत्रिका पढ्ने पुस्तादेखि अहिले बिहान ओछ्यानबाट आँखा खोल्नासाथ सामाजिक सञ्जालमा रमाइरहेका छन् युवा पुस्ता । हिजो सूचना प्राप्त गर्न पत्रिका, रेडियो र टेलिभिजन भएका घरमा गएर कहाँ के भइरहेको छ समाचारबाट थाहा हुन्थ्यो । सूचनाको स्रोत पनि यी नै हुन्थ्यो । तर अहिले प्रत्येक व्यक्तिसँग सञ्चारको साधन छ ।    
    
प्रायः गाउँगाउँ डिजिटल प्रविधि मैत्री बन्दै जाने क्रम बढ्दो छ । इन्टरनेटको पहुँच गाउँमा विस्तार हुँदै गएको छ । फोरजी सेवासमेत विस्तार हुँदै गएको छ । सहरदेखि गाउँगाउँ डिजिटल बन्दै गएको छ । दुर्गम गाउँका सूचना एक मिनेटमै विश्वभर पुग्न सक्ने भएको छ । तर अहिले पनि जहाँ यस्तो गाउँ पनि छन् कुनै पनि सञ्चार माध्यमको पहुँच बाहिरका बस्ती । जीर्णोद्वार र काठले छाएको घर निकै वर्ष अगाडिको जस्तो देखिन्छ । थोत्रो घरको छानोमा एउटा अग्लो खम्बा गाडिएको छ तर त्यो रेडियोको फ्रिक्वेन्सी टिप्नका लागि एन्टिना राखिएको खम्बा हो । यो दृश्य ताप्लेजुङको जिल्लाकै उच्च हिमाली तथा पूर्वी नेपालको अन्तिम बस्ती फक्ताङलुङ गाउँपालिका–७ को दुर्गमबस्ती याङमाको हो । याङमा समुद्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको छ । यो बस्ती ताप्लेजुङको उच्च स्थानमा रहेका बस्ती हो ।    
    
याङमा गाउँमा ११ घरपरिवार बसोबास गर्दै आएका छन् । यहाँका समुदायको प्रायःगोठमै समय बित्छ । त्यहाँ मोबाइलको टावर नभएकाले कसैसँग न मोबाइल छ न त टेलिभिजन नै । स्थानीयवासी सबैले रेडियो सुन्न सक्दैनन् । घरको छानोमा एन्टिनाको तार राख्न सक्नेले मात्र रेडियो नेपाल र एक दुईटा रेडियोको फ्रिक्वेन्सी भने सुन्न सक्ने दोर्जे शेर्पाले बताउनुभयो । रेडियोबाटै देश विदेशमा के भइरहेको छ, भन्ने खबर प्राप्त गर्ने गरेको उहाँले सुनाउनुभयो । शेर्पाले भन्नुभयो, “अगाडि त कोशी एफएम पनि अलिअलि टिप्थ्यो तर हिजो आज त्यो पनि टिप्न छोड्यो ।”    
    
याङ क्षेत्रमा एक दुईवटा रेडियोका फ्रिक्वेन्सी सुन्ने बाहेक अन्य सञ्चारमाध्यमका पहँुच पुग्न सकेको छैन । रेडियो पनि घरको धुरीमा तार राखेर एरियल जोड्नुपर्ने अर्का स्थानीयवासी सोनाम शेर्पाले बताउनुभयो । सञ्चारको पहुँच नभएकै कारण कुनै विशेष वा संवेदनशील खबर समयमै नपाउँदा समस्यामाथि समस्या हुने गरेको याङ्माका बासिन्दा बताउँछन् । उहाँहरुका अनुसार कुनै जरुरी सञ्चार सम्पर्क गर्नुपरेमा एक दिन पैदल हिँडेर ओलाङ्चुङ्गोला पुग्नुपर्दछ । त्यहाँ भने नेपाल टेलिकमले मोबाइलको टावर विस्तार गरेकाले सञ्चार सम्पर्क गर्न सहज भएको हो । मोबाइलको टावर राख्नुअघि ओलाङ्चुङ्गोलामा पनि सञ्चारको समस्या उस्तै थियो ।    
    
वर्षायाममा भने याङ्मा–ओलाङ्चुङ्गोला आवतजावत गर्न सक्ने अवस्था नभएकोे याङ्मावासी बताउँछन् । याङ्माखोलामा हिउँदमा काठेपुल हालेर आवतजावत गरिन्छ भने वर्षामा पुल बगाउने भएकाले ओलाङ्चुङ्गोलासँग सम्पर्क टुट्ने अर्का स्थानीयवासी सोनाम शेर्पाले बताउनुभयो । उहाँका अनुसार याङ्मा गाउँदेखि एक÷डेढघण्टा दुरीको डाँडा–डाँडामा नेटवर्क खोज्दै जाँदा कुनैबेला स्काइ मोबाइलमा सम्पर्क भए पनि सहजरुपले कुरा गर्न पाइदैन । मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्र र तोक्पेगाला क्षेत्रका बस्तीसमेत मोबाइलको पहुँच भन्दा बाहिर छन् । यस क्षेत्रका केही ठाउँमा भने रेडियो सुन्न सकिने स्थानीय तेन्जिङनुपू शेर्पाले बताउनुभयो । यस क्षेत्रमा बसोबास गर्ने समुदायको पुख्र्यौली पेशा पशुपालन हो ।    
    
याक गोठ, बस्ती र गोठालाको साथी नै रेडियो भएको शेर्पाले बताउनुभयो । प्रायः याक गोठमै समय बिताउँछन् । गोठमा रहँदा पनि सूचना आदानप्रदान गर्न डाँडामा निस्केर ठूलो आवाजमा कराउने वा सुसेल्नुपर्ने हुन्छ ठूलो आवाजमा कराएको र सुसेलेको आवाज सुनेपछि एउटा गोठदेखि अर्को गोठसम्म आवश्यक सूचना आदानप्रदान हुने गरेको मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोलाका याकपालक राजकुमार सावाले बताउनुभयो ।    
    
तीनै तहका सरकार तथा नेपाल टेलिकमले याङ्माका बासिन्दालाई सञ्चार सुविधा पु¥याउनका लागि आवश्यक पहल गर्नुपर्ने उहाँहरुको माग छ । याङवामा मोबाइल टावर राख्नका लागि पहल भइरहेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । लिम्बूले “म आफैँ नेपाल टेलिमकको मुख्य कार्यालयमा पुगेर याङ्मा गाउँमा टावर स्थापन गर्न आग्रहसहित पत्र बुझाएको छु । छ महिनामा टावर राख्ने प्रक्रिया सुरु हुने भनेको छ । रासस

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update