किम जोङ उनको सम्भावित चीन भ्रमणबारे दक्षिण कोरियाको निगरानी
उत्तर कोरियाली नेता किम जोङ उन ।
  • उत्तर कोरियाली नेता किमको सम्भावित चीन भ्रमणको तयारीबारे दक्षिण कोरियाली गुप्तचर निकाय सतर्क ।
  • चिनियाँ सीमावर्ती सहर डान्डोङमा भ्रमणको तयारीस्वरूप आपत्कालीन आदेश जारी भएको सञ्चारमाध्यमको दाबी ।
  • भ्रमण भएमा राष्ट्रपति सीसँग अमेरिका-चीन सम्बन्ध र रुससँगको सम्भावित त्रिपक्षीय बैठकबारे छलफल हुन सक्ने ।

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनको सम्भावित चीन भ्रमणबारे दक्षिण कोरियाको गुप्तचर निकायले निगरानी बढाएको छ ।

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले यसै महिना दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङसँगको भेटमा किमको चीन भ्रमण हुन सक्ने सङ्केत गर्नुभएको थियो ।

दक्षिण कोरियाली प्रसारक केबीएसले कूटनीतिक स्रोतलाई उद्धृत गर्दै चीनको सीमावर्ती सहर डान्डोङमा किमको सम्भावित भ्रमणको तयारीस्वरूप आपत्कालीन आदेश जारी गरिएको जनाएको छ । किमले गत अक्टोबरमा पनि उक्त सहरको अघोषित एकदिने भ्रमण गर्नुभएको थियो ।

दक्षिण कोरियाको गुप्तचर निकायले शनिबार विभिन्न घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । तर, राष्ट्रपति कार्यालयले चिनियाँ राष्ट्रपति सीले किमको भ्रमणबारे केबीएसले उल्लेख गरेअनुसारको कुरा नगर्नुभएको स्पष्ट पारेको छ । साथै, उत्तर कोरिया–चीन सम्बन्धका घटनाक्रमको निगरानी भइरहेको जनाएको छ ।

चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार तथा प्रमुख कूटनीतिक, आर्थिक र राजनीतिक सहयोगी हो । संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आफूलाई आणविक हतियार सम्पन्न राष्ट्रका रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ ।

किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वार्ता प्रस्तावलाई बेवास्ता गर्दै आउनुभएको छ । विशेषज्ञहरूका अनुसार प्योङयाङले वार्ताका लागि अमेरिकाबाट आणविक हतियार सम्पन्न राष्ट्रको मान्यता खोजिरहेको छ । यसले वासिङ्टन र सियोलका लागि कूटनीतिक तथा सुरक्षा चुनौती निम्त्याउन सक्छ ।

विश्लेषकहरूका अनुसार चीन भ्रमण भएमा किमले राष्ट्रपति सीसँग अमेरिका–चीन वार्ताको परिणाम तथा उत्तर कोरियाको अर्को सहयोगी रुससँगको सम्भावित त्रिपक्षीय शिखर बैठकबारे छलफल गर्न सक्नुहुनेछ । एएफपी

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update