पैचिङ । चीनको एक अदालतले म्यानमाको कोकाङ क्षेत्रमा ठगी केन्द्रको सञ्जाल सञ्चालन गरेको आपराधिक गिरोहका तीन सदस्यलाई मङ्गलबार मृत्युदण्डको सजाय सुनाएको छ । सोही मुद्दामा अन्य दर्जनौँ व्यक्तिलाई पनि विभिन्न अवधिको जेल सजाय सुनाइएको छ ।
पछिल्ला वर्षमा म्यानमासहित दक्षिणपूर्वी एसियाका केही क्षेत्रमा अर्बौँ डलरको अनलाइन ठगी कारोबार फस्टाएको छ । यसलाई नियन्त्रण गर्न चीनले क्षेत्रका अन्य देशसँग सुरक्षा सहकार्य बढाउँदै आएको छ ।
अनलाइन ठगीमा सङ्लग्न सबै व्यक्ति स्वेच्छाले अपराधमा लागेका हुँदैनन् । कतिपय विदेशी नागरिक, विशेषगरी चिनियाँ नागरिकलाई रोजगारीको प्रलोभन देखाएर मानव तस्करीमार्फत त्यस्ता केन्द्रमा पु¥याइन्छ । उनीहरूलाई जेलजस्तै परिसरमा बन्धक बनाएर जबर्जस्ती ठगीका गतिविधिमा सङ्लग्न गराइने गरेको छ ।
क्वान्झोउ इन्टरमिडिएट पिपुल्स कोर्टले मङ्गलबार जारी गरेको विज्ञप्तिअनुसार, ‘वेई परिवार आपराधिक गिरोह’का सदस्य वेई हुआइरेन, चेन दावेई र लियाओ जिङफाङलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।
अदालतका अनुसार उक्त गिरोह लागुऔषध तस्करी, वेश्यावृत्ति सञ्चालन, अवैध क्यासिनो सञ्चालन, दूरसञ्चार ठगी तथा कम्तीमा दुई चिनियाँ नागरिकको हत्यालगायतका गम्भीर अपराधमा सङ्लग्न थियो ।
वेई हुआइरेनलाई गिरोहका प्रमुखमध्ये एकका रूपमा पहिचान गरिएको थियो । उनी हत्या र अन्य विभिन्न अपराधमा दोषी ठहर भएका थिए ।
अदालतले गिरोहका अवैध गतिविधिबाट १२ अर्ब २० करोड युआनभन्दा बढी अर्थात् करिब एक अर्ब ८० करोड अमेरिकी डलर बराबरको रकम असुलिएको जनाएको छ ।
मुद्दामा गिरोहका अन्य तीन सदस्यलाई आजीवन कारावासको सजाय सुनाइएको छ भने ५५ जनालाई तीन वर्ष तीन महिनादेखि २४ वर्षसम्मको जेल सजाय दिइएको छ ।
विश्लेषकले ‘वेई परिवार’लाई म्यानमाको कोकाङ क्षेत्रमा आपराधिक सञ्जाल सञ्चालन गर्ने ‘चार प्रमुख परिवार’ मध्ये एकका रूपमा वर्णन गर्दै आएका छन् ।
चीनको सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार उक्त गिरोह उत्तरी म्यानमाको सबैभन्दा हिंस्रक आपराधिक समूहमध्ये एक थियो । उसले राजनीतिक, सैन्य र व्यावसायिक अपराधलाई एकआपसमा जोडेर शक्तिशाली सञ्जाल निर्माण गरेको थियो ।
सीसीटीभीले गिरोहले १४ वटा ठूला ठगी केन्द्र सञ्चालन गरेको र उच्च तलबको झुटो प्रलोभन देखाएर ठूलो सङ्ख्यामा चिनियाँ नागरिकलाई म्यानमा बोलाउने गरेको जनाएको छ ।
प्रहरीले अनुसन्धानका क्रममा फलामे साङ्लाले बाँधिएका तथा टाउकोमा गोली लागेको अवस्थामा रहेका पीडितका अवशेषसमेत फेला पारेको सीसीटीभीले उल्लेख गरेको छ ।
वेई परिवारका सदस्यविरुद्ध पहिलो पटक सन् २०२५ को अक्टोबरमा अभियोग दायर गरिएको थियो ।
चीनले म्यानमामा सक्रिय आपराधिक गिरोहविरुद्ध कारबाही तीव्र बनाउने क्रममा यसअघि पनि मृत्युदण्ड दिएको थियो । गत जनवरीमा ‘मिङ परिवार आपराधिक गिरोह’ का सदस्यसहित ११ जनालाई मृत्युदण्ड दिइएको थियो ।
त्यसको अर्को महिना, कुख्यात ‘बाई समूह’का चार सदस्यलाई ठगी, जानाजानी हत्या, ज्यानमा चोट पु¥याउने, अपहरण र जबर्जस्ती असुलीलगायतका अपराधमा मृत्युदण्ड दिइएको थियो ।
