- हुथी आक्रमणमा १३ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ।
- हवाई रक्षा प्रणाली असफल हुनुको कारण खोजिँदै ।
- रियादतर्फ प्रहार गरिएका क्षेप्यास्त्र नष्ट गरिएको दाबी ।
कायरो । साउदी अरबले राजधानी रियादस्थित विमानस्थलमा भएको घातक हुथी आक्रमण रोक्न आफ्नो हवाई रक्षा प्रणाली किन असफल भयो भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ ।
इरान समर्थित यमनका हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी घाइते भएको क्षेत्रीय अधिकारीहरूले सोमबार बताएका छन् ।
सार्वजनिक रूपमा टिप्पणी गर्ने अधिकार नभएकाले नाम नखुलाउने सर्तमा बोलेका दुई क्षेत्रीय अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानले हुथी विद्रोहीले सुरुमा ठूलो सङ्ख्यामा ड्रोन प्रहार गरेको र त्यसपछि क्रुज तथा ब्यालिस्टिक क्षेप्यास्त्रमार्फत रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरेको देखाएको छ ।
हुथी विद्रोहीसँग ब्यालिस्टिक क्षेप्यास्त्र तथा उडानकै क्रममा दिशा परिवर्तन गर्न सक्ने उन्नत प्रणाली जडित हतियार रहेको बताइएको छ । यस्ता हतियारले साउदी अरबले प्रयोग गर्दै आएको प्याट्रियटलगायतका हवाई रक्षा प्रणालीलाई चुनौती दिन सक्छन् ।
एक हजार किलोमिटरभन्दा बढी दूरी पार गरेर रियाद पुगेका क्षेप्यास्त्र र ड्रोनबारे साउदी हवाई रक्षा प्रणालीले किन समयमै पूर्वचेतावनी दिन सकेन भन्ने विषयमा पनि अनुसन्धान गरिने अधिकारीहरूले बताएका छन् ।
गत सातादेखि साउदी अरबका विभिन्न विमानस्थललाई लक्षित गरी भइरहेका हुथी आक्रमणमध्ये पछिल्लो घटनाले देशको हवाई रक्षा प्रणालीमा रहेका कमजोरी उजागर गरेको छ । यसले सात महिनाभन्दा लामो समयअघि अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेपछि विस्तार हुँदै गएको मध्यपूर्वको द्वन्द्व थप जोखिमपूर्ण मोडमा पुगेको सङ्केत गरेको छ ।
साउदी नेतृत्वको गठबन्धनले सोमबार रियादतर्फ प्रहार गरिएका ब्यालिस्टिक क्षेप्यास्त्रका दुई समूहलाई अवरोध गरी नष्ट गरेको जनाएको छ । सोमबार राति राजधानीमा कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि नागरिक सुरक्षा अधिकारीहरूले तत्कालका लागि खतरा टरेको बताएका थिए ।
हुथी विद्रोहीले सोमबार किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएको दाबी गरेका छन् । उनीहरूले मुस्लिम धर्मावलम्बीका पवित्र सहर मक्का र मदिनाबाहेक साउदी अरबका अन्य सबै विमानस्थल असुरक्षित रहेको भन्दै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई चेतावनीसमेत दिएका छन् ।एपी
