RayNewsDaily
एल निनोले समुद्री तापक्रमको रेकर्ड तोड्यो, सन् २०२७ मा पनि गर्मी बढ्ने चेतावनी
  • प्रशान्त महासागरको तापक्रम २९.७० डिग्री पुग्यो ।
  • विश्वव्यापी तापक्रममा नयाँ रेकर्डको जोखिम ।
  • जीवाश्म इन्धनको उत्सर्जन घटाउन वैज्ञानिकको जोड ।

पेरिस । शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री सतहको तापक्रम गत सेप्टेम्बरमा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन सेवाले जनाएको छ । यसका कारण सन् २०२७ मा विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

इयुको कोपर्निकस जलवायु परिवर्तन सेवाका अनुसार ‘निनो ३.४’ क्षेत्रमा समुद्री सतहको तापक्रम २९.७० डिग्री सेल्सियस पुगेको थियो । यो सन् १९८२-१९८३, १९९७-१९९८ र २०१५-२०१६ का शक्तिशाली एल निनो घटनाका बेला मापन गरिएको तापक्रमभन्दा बढी हो ।

यद्यपि, जलवायु परिवर्तनका कारण समुद्रको तापक्रम पहिल्यै बढिसकेकाले हालको एल निनोलाई अहिलेसम्मकै शक्तिशाली भन्न नसकिने कोपर्निकसले जनाएको छ ।

गत सेप्टेम्बरमा विश्वव्यापी समुद्री सतहको औसत तापक्रम २१.०५ डिग्री सेल्सियस पुगेको थियो । त्यस्तै, विश्वको औसत सतही तापक्रम १६.२७ डिग्री सेल्सियस रह्यो । यो पूर्वऔद्योगिक औसतभन्दा १.६३ डिग्री बढी हो ।

कोपर्निकसका निर्देशक कार्लो बुन्टेम्पोले शक्तिशाली एल निनोका कारण सन् २०२७ सम्म पनि मासिक तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि रहने सम्भावना रहेको बताउनुभयो ।

तापक्रम वृद्धि नियन्त्रण गर्न जीवाश्म इन्धनबाट हुने हरितगृह ग्यास उत्सर्जन घटाउनु महत्त्वपूर्ण रहेको वैज्ञानिकहरूको भनाइ छ ।

एल निनो प्राकृतिक जलवायु चक्रको तापक्रम बढाउने चरण हो । यसले प्रशान्त महासागरको सतहको तापक्रम बढाएर विश्वव्यापी हावा र वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ । यसका कारण विभिन्न क्षेत्रमा खडेरी र बाढीको जोखिम बढ्न सक्छ ।

एल निनो सामान्यतया प्रत्येक दुईदेखि सात वर्षमा देखा पर्छ र नौदेखि १२ महिनासम्म रहन्छ । एएफपी

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update