RayNewsDaily
दक्षिण अफ्रिकी मानव अधिकारकर्मी नावी पिल्लेलाई नोबेल शान्ति पुरस्कार
  • अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको संरक्षणमा योगदान पुर्‍याएको भन्दै पिल्लेलाई पुरस्कार ।
  • गाजामा नरसंहार भएको निष्कर्ष निकाल्ने संयुक्त राष्ट्रसङ्घीय आयोगको नेतृत्व गर्नुभएको थियो ।
  • अन्तर्राष्ट्रिय न्यायालय र फौजदारी अदालतको भूमिकामाथि बढ्दो दबाबबीच पुरस्कार घोषणा ।

ओस्लो । दक्षिण अफ्रिकामा जन्मिएकी न्यायाधीश तथा संयुक्त राष्ट्रसङ्घकी पूर्व मानव अधिकार प्रमुख नावी पिल्लेलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।

पिल्लेले आफ्नो जीवन मानव अधिकारको संरक्षण र अन्तर्राष्ट्रिय न्यायको प्रवर्द्धनमा समर्पित गर्नुभएको छ । उहाँले जेलमा रहनुभएका नेल्सन मण्डेलाको अधिकार रक्षादेखि इजरायलले गाजामा नरसंहार गरेको निष्कर्ष निकाल्ने संयुक्त राष्ट्रसङ्घीय आयोगको नेतृत्व गर्नेसम्मका काम गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय कानुनमाथि दबाब बढिरहेका बेला त्यसको संरक्षण र प्रवर्द्धनमा गरेको योगदानका लागि उहाँलाई पुरस्कार प्रदान गरिएको हो ।

यो पुरस्कारलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको नीतिमाथिको उच्चस्तरीय आलोचनाका रूपमा पनि हेरिएको छ । दुवैले गाजाबारे पिल्लेको नेतृत्वमा रहेको संयुक्त राष्ट्रसङ्घीय आयोगले निकालेको निष्कर्ष अस्वीकार गर्दै आएका छन् । उनीहरूले अन्तर्राष्ट्रिय न्यायालय र अन्तर्राष्ट्रिय फौजदारी अदालतको पनि आलोचना गर्दै आएका छन् । पिल्लेले दुवै संस्थामा काम गर्नुभएको छ ।

नर्वेली नोबेल समितिका अध्यक्ष योर्गेन वात्ने फ्राइडनेसले ओस्लोमा शान्ति पुरस्कारको १२५औँ वार्षिकोत्सवका अवसरमा पुरस्कार घोषणा गर्दै पिल्लेको काम विश्वलाई अझ शान्तिपूर्ण बनाउन चाहने सबैका लागि आशा र प्रेरणाको स्रोत भएको बताउनुभयो ।

समितिले द्वन्द्वका समयमा अन्तर्राष्ट्रिय कानुनलाई बलियो बनाउने प्रयासको सम्मानस्वरूप पुरस्कार प्रदान गरिएको जनाएको छ । अध्यक्ष फ्राइडनेसले पिल्लेलाई दिइएको पुरस्कार अन्तर्राष्ट्रिय नियममा आधारित प्रणाली र संस्थालाई कमजोर बनाउन खोज्नेहरूका लागि सन्देश भएको बताउनुभयो ।

पिल्लेको कार्यक्षेत्र विश्वव्यापी रहे पनि विशेषगरी इजरायल र रङ्गभेदकालीन दक्षिण अफ्रिकामा उहाँको कामले तीव्र बहस निम्त्याउने गरेको छ । उहाँ र उहाँका सहकर्मीले विश्वका जटिल तथा संवेदनशील कानुनी मुद्दा र सबैभन्दा कमजोर अवस्थामा रहेका समुदायका अधिकारका लागि काम गर्नुभएको छ ।

८५ वर्षीया पिल्लेले जर्मनीको न्युरेम्बर्गमा आयोजित एक कार्यक्रममा सहभागी भइरहेका बेला नोबेल शान्ति पुरस्कार प्राप्त गरेको खबर पाउनुभएको थियो । न्युरेम्बर्गमा नाजी युद्ध अपराधीमाथि मुद्दा चलाइएको थियो । ती मुद्दाले आधुनिक अन्तर्राष्ट्रिय कानुनको आधारशिला तयार गर्न सहयोग पुर्‍याएका थिए ।

पुरस्कारको खबरपछि उहाँले कार्यक्रममा सहभागी व्यक्तिहरूले उठेर दिएको तालीप्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो स्थानमा तपाईंहरूले दिनुभएको ताली मेरा लागि ठूलो अर्थ राख्छ । सार्वजनिक रूपमा म यो पुरस्कारका लागि योग्य छु भन्ने पुष्टि नभएसम्म कुनै पुरस्कार वा सम्मान स्वीकार गर्न चाहन्नँ ।”

वकिल र न्यायाधीशका रूपमा आफूले प्राप्त गरेको खबरसमेत प्रमाणित गर्न चाहेको भन्दै उहाँले हल्का ठट्टा पनि गर्नुभयो ।

गाजामा नरसंहार भएको निष्कर्ष निकाल्ने आयोगको नेतृत्व

पिल्लेले संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद्ले गठन गरेको प्यालेस्टिनी भूभाग र इजरायलसम्बन्धी अनुसन्धान आयोगको अध्यक्षता गर्नुभएको थियो । उक्त आयोगले एक वर्षअघि इजरायल गाजामा नरसंहारका लागि जिम्मेवार रहेको र त्यहाँका प्यालेस्टिनी जनतालाई नष्ट गर्ने विशिष्ट उद्देश्य राखेको निष्कर्ष निकालेको थियो ।

शुक्रबार नोबेल शान्ति पुरस्कार पाएको खबरपछि उहाँले गाजाको अवस्थाबारे टिप्पणी गर्नुभयो । जर्मनीमा सम्बोधनका क्रममा उहाँले भन्नुभयो, “त्यहाँ भइरहेको कुरा नरसंहार हो ।”

गत वर्ष आयोगले इजरायली राष्ट्रपति, प्रधानमन्त्री र पूर्वरक्षा मन्त्रीले नरसंहारका लागि उक्साएको निष्कर्षसमेत निकालेको थियो । सन् २०२१ मा आयोग गठन भएदेखि इजरायलले त्यससँग सहकार्य गर्न अस्वीकार गर्दै आएको छ । उसले आयोगका आरोपलाई कडा रूपमा खण्डन गर्दै आएको छ ।

पिल्लेले आफूलाई यहूदीविरोधी भएको वा इजरायलमा हमासले गरेको आक्रमणलाई बेवास्ता गरेको आरोप लगाउने आलोचकलाई बारम्बार जवाफ दिनुभएको छ । उहाँको नेतृत्वमा रहेको आयोगले सन् २०२३ अक्टोबर ७ मा भएको हमासको आक्रमणमा युद्ध अपराध तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको आरोप लगाउने प्रतिवेदन पनि सार्वजनिक गरेको थियो ।

दक्षिण अफ्रिकामा रङ्गभेदविरुद्धको आन्दोलनका क्रममा पिल्लेले केही यहूदी वकिलसँग निकट रहेर काम गर्नुभएको थियो । सन् २००८ देखि २०१४ सम्म संयुक्त राष्ट्रसङ्घको मानव अधिकार प्रमुख रहँदा उहाँ इजरायलको भ्रमणमा पनि जानुभएको थियो ।

हमासका वरिष्ठ अधिकारी बासेम नाइमले शुक्रबार जारी गरेको विज्ञप्तिमा पिल्लेलाई दिइएको नोबेल शान्ति पुरस्कार प्यालेस्टिनी, विशेषगरी गाजाका नागरिकका लागि आशाको सन्देश भएको बताएका छन् । उनका अनुसार यसले अन्तर्राष्ट्रिय न्यायलाई निशाना बनाउने शक्तिविरुद्ध मानवता अझै प्रतिरोध गरिरहेको देखाउँछ ।

यसैबीच, इजरायली विदेश मन्त्रालयले पिल्लेलाई कडा आलोचना गर्दै विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, “यदि झूट, घृणा र रक्त–अपवादका लागि कुनै पुरस्कार हुन्थ्यो भने नावी पिल्ले केवल प्रतिस्पर्धी मात्र हुनुहुने थिएन । उहाँ अग्रपङ्क्तिमा हुनुहुने थियो ।”

मन्त्रालयले थप भनेको छ, “यो पुरस्कार न्यायको मान्यता होइन । यो इजरायलविरोधी घृणा र पूर्वाग्रहलाई वैधता दिन पुरस्कारको घृणित हतियारकरण हो ।”

इजरायलमा चुनाव हुन तीन हप्ताभन्दा कम समय बाँकी रहँदा पुरस्कार घोषणा भएको हो । प्रधानमन्त्री नेतन्याहु सत्तामा कायम रहन सङ्घर्ष गरिरहनुभएको छ । इजरायली मतदाताका लागि गाजासम्बन्धी सरकारी नीतिभन्दा थप आक्रमणबाट नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने विषय बढी महत्त्वपूर्ण रहेको समाचारमा उल्लेख छ ।

ट्रम्प र अन्तर्राष्ट्रिय फौजदारी अदालतबीचको विवादमा पनि ध्यान

पिल्लेलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएसँगै ट्रम्प प्रशासन र अन्तर्राष्ट्रिय फौजदारी अदालतबीच जारी विवादले थप ध्यान पाउने देखिएको छ । पिल्ले सन् २००३ देखि २००८ सम्म उक्त अदालतमा न्यायाधीश हुनुहुन्थ्यो ।

ट्रम्प प्रशासनले यसअघि अदालतका १३ कर्मचारीमाथि प्रतिबन्ध लगाइसकेको छ । प्रतिबन्धमा प्रमुख अभियोजक तथा अदालतकी जापानी अध्यक्ष तोमोको अकानेसहित नौ न्यायाधीशसमेत परेका छन् ।

गत महिना संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई ‘नियन्त्रणबाहिरको संस्था’ र ‘अमेरिकामाथि कुनै अधिकारक्षेत्र नभएको अमेरिकीविरोधी न्यायाधिकरण’ भन्नुभएको थियो । उहाँले सदस्य राष्ट्रहरूलाई उक्त ‘दुष्ट’ संस्था तत्काल छाड्न आग्रहसमेत गर्नुभएको थियो ।

पिल्ले अहिले संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालतका रूपमा रहेको अन्तर्राष्ट्रिय न्यायालयमा म्यानमारविरुद्धको नरसंहारसम्बन्धी मुद्दामा तदर्थ न्यायाधीशका रूपमा काम गरिरहनुभएको छ ।

अन्तर्राष्ट्रिय न्यायालयका स्थायी १५ न्यायाधीशको प्यानलमा आफ्नो देशको प्रतिनिधित्व नभएका पक्षले मुद्दामा सहभागी हुन आफूले रोजेको विशेषज्ञलाई तदर्थ न्यायाधीशका रूपमा नियुक्त गर्न सक्छन् । सन् २०१९ मा रोहिङ्ग्या अल्पसङ्ख्यक समुदायमाथि म्यानमारले नरसंहार गरेको आरोप लगाउँदै मुद्दा दायर गर्ने गाम्बियाले पिल्लेलाई चयन गरेको थियो ।

मण्डेलासहित राजनीतिक कैदीको अधिकारका लागि काम

रङ्गभेदकालीन दक्षिण अफ्रिकामा युवा वकिलका रूपमा काम गर्दा पिल्लेले रोबेन टापुमा थुनिएका राजनीतिक कैदीहरूको अधिकार स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । ती कैदीमध्ये नोबेल शान्ति पुरस्कार विजेता नेल्सन मण्डेला पनि हुनुहुन्थ्यो । एपी

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update