- चीनसँगको व्यापार घाटा घटाउन इयुको पहल ।
- सस्ता चिनियाँ वस्तुले युरोपेली उद्योग र रोजगारीमा दबाब ।
- व्यापार तनावबीच आपूर्ति र निर्यात प्रभावित हुने चिन्ता ।
बेइजिङ । चीनसँग बढ्दो व्यापार तनाव कम गर्दै व्यापार तथा लगानीमा सन्तुलन कायम गर्न युरोपेली युनियन (इयु) ले ठोस उपलब्धि हासिल गर्ने प्रयास गरेको छ । इयुका वाणिज्य अधिकारी मारोस सेफकोभिकले शुक्रबार हुने वार्ताबाट ठोस नतिजा निकाल्नु महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्टाओसँग बिहीबार बेइजिङमा भेट गरेपछि सेफकोभिकले तीन महिनादेखि भइरहेको गहन संवादमार्फत इयु-चीन व्यापारलाई सन्तुलित बनाउने प्रयास भइरहेको बताउनुभयो ।
चीनसँग इयुको दैनिक व्यापार घाटा करिब एक अर्ब युरो पुगेको छ । चीनबाट आयात हुने सस्ता वस्तुले युरोपेली उद्योगमा दबाब सिर्जना गरेको र हजारौँ रोजगारी गुमेको इयुको भनाइ छ । इयुले चीनमाथि सरकारी अनुदान, मूल्य घटाएर वस्तु बिक्री तथा मुद्रा हेरफेर गर्ने कम्पनीलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ ।
यद्यपि, चीनले दुर्लभ पृथ्वीका खनिजजस्ता महत्त्वपूर्ण वस्तुको आपूर्ति रोक्न वा युरोपेली निर्यातमा अवरोध गर्न सक्ने भएकाले इयुका लागि व्यापार सम्बन्ध बिगार्नु सहज छैन । अर्कोतर्फ, कमजोर घरेलु अर्थतन्त्रलाई सहारा दिन निर्यातमा निर्भर चीनलाई पनि व्यापार तनावले असर पार्न सक्छ ।
युरोपेली संसद्को व्यापार समितिका प्रमुख बन्र्ड ल्याङले चीनको आर्थिक सङ्कटले इयुलाई वार्तामा आफ्नो मोलतोल गर्ने क्षमता बढाएको बताउनुभएको छ । एएफपी
