- निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको भनाइ ।
- इरानसँग फलदायी छलफल भइरहेको दाबी ।
- इन्धनको मूल्यवृद्धिले अमेरिकी मतदाता असन्तुष्ट ।
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने घोषणा गर्नुभएको छ । उहाँले इरानसँग फलदायी छलफल भइरहेको बताउँदै इरान आर्थिक र सैन्य रूपमा कमजोर अवस्थामा रहेको दाबी गर्नुभएको छ ।
ट्रम्पको घोषणाअघि अमेरिकी सञ्चारमाध्यमले ह्वाइट हाउसले इरानका सम्भावित सैन्य लक्ष्यमा आक्रमणको योजना बनाउन पेन्टागनलाई निर्देशन दिएको समाचार सार्वजनिक गरेका थिए ।
यसैबीच, हर्मुज जलघाँटीमा बढेको तनाव र यमनका इरानसमर्थित हुथी तथा साउदी अरबबीचको शत्रुताका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०५.८८ अमेरिकी डलरसम्म पुगेको थियो ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध युद्ध सुरु गरेपछि इन्धनको मूल्य बढेको छ । जनमत सर्वेक्षणहरूले यसप्रति अमेरिकी मतदाता असन्तुष्ट रहेको देखाएका छन् । युद्ध अन्त्य भएपछि इन्धनको मूल्य घट्ने ट्रम्पको दाबीले पनि मतदातालाई आश्वस्त पार्न सकेको छैन ।
अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ट्रम्पको रिपब्लिकन पार्टीले कङ्ग्रेसमा बहुमत गुमाउन सक्ने जोखिम छ । डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभामा बहुमत पाए आफूले तेस्रो महाभियोग सामना गर्नुपर्ने ट्रम्पले चेतावनी दिनुभएको छ ।
इरानले लस एन्जलस र सान डियागोमा आक्रमण गर्न सक्ने आशयको अभिव्यक्तिलाई लिएर भएको आलोचनापछि ट्रम्पले सञ्चारमाध्यमले आफ्नो भनाइको गलत व्याख्या गरेको आरोप लगाउनुभयो । इरानसँग आणविक हतियार नभएको अवस्थामा पेट्रोलको मूल्यमा भएको अस्थायी वृद्धि सानो मूल्य भएको उहाँले बताउनुभयो । एएफपी
