- हृदयाघातपछि नाना पाटेकरको निधन ।
- गोवामा ४५ मिनेट सीपीआर दिइयो ।
- ‘क्रान्तिवीर’सहित चर्चित फिल्ममा अभिनय ।
पणजी (भारत) । हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको आज बिहान हृदयाघातपछि ७५ वर्षको उमेरमा निधन भएको छ । मणिपाल अस्पतालका चिकित्सकले उहाँको निधन भएको पुष्टि गरेका हुन् ।
मणिपाल अस्पतालको ओन्कोलोजी विभागका प्रमुख डा. शेखर साल्करका अनुसार बिहान निवासमा अस्वस्थ भएपछि पाटेकरलाई अस्पताल ल्याइएको थियो । अस्पताल पुर्याउँदा उहाँको अवस्था गम्भीर भइसकेको थियो । चिकित्सकको टोलीले करिब ४५ मिनेटसम्म उहाँलाई पुनर्जीवित गर्ने प्रयास गरे पनि बचाउन नसकिएको डा साल्करले बताउनुभयो ।
डा. साल्करका अनुसार पाटेकरले बिहान करिब २ः३० बजे आफूलाई असहज भइरहेको भन्दै एक साथीलाई सन्देश पठाउनुभएको थियो । रातको समय भएकाले साथीले तत्काल सन्देश देख्नुभएन । त्यसपछि फोन गर्दा पनि सम्पर्क हुन नसकेपछि उहाँ बिहान करिब ४ बजे पाटेकरको निवासमा पुग्नुभएको थियो । त्यतिबेला पाटेकरलाई अत्यधिक पसिना आएको र बिस्तारै बेहोस हुँदै गएको जनाइएको छ ।
अस्पतालको आपत्कालीन टोलीले निवासमै पुगेर उहाँलाई सीपीआर दिएको थियो । त्यसपछि बिहान करिब ४ः२० देखि ४ः३० बजेको बीचमा अस्पताल ल्याइएको थियो । अस्पतालमा समेत चिकित्सकले निरन्तर सीपीआर दिए पनि उहाँलाई बचाउन नसकिएको डा. साल्करले बताउनुभयो ।
पाटेकरको निधनपछि मेडिको-कानूनी प्रक्रिया अघि बढाइएको र शव पोस्टमार्टमका लागि गोवा मेडिकल कलेज लगिएको जनाइएको छ ।
पाटेकरले सन् १९७८ मा ‘गमन’ चलचित्रबाट अभिनय यात्रा सुरु गर्नुभएको थियो । उहाँले ‘परिन्दा’, ‘प्रहार’, ‘क्रान्तिवीर’, ‘तिरङ्गा’, ‘खामोशी’ र ‘अब तक छप्पन’ लगायतका चलचित्रमा प्रभावशाली अभिनय गर्नुभएको थियो ।
पछिल्ला वर्षमा पनि उहाँ चलचित्र क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । ‘हाउसफुल ५’, विशाल भारद्वाजको ‘ओ’ रोमियो’ तथा ‘सुबेदार’ उहाँका पछिल्ला चलचित्रमध्ये हुन् ।
करिब पाँच दशक लामो अभिनय यात्रामा पाटेकरले हिन्दी तथा मराठी चलचित्रमा विशिष्ट पहिचान बनाउनुभएको थियो । अभिनयसँगै उहाँ निर्देशक तथा रंगमञ्च कलाकारका रूपमा पनि परिचित हुनुहुन्थ्यो । एएनआई
