- बङ्गलादेशको पहिलो आणविक संयन्त्र सञ्चालनको तयारीमा ।
- २.४ गिगावाट क्षमताका दुई रिएक्टरबाट विद्युत् उत्पादन हुने ।
- स्थानीयवासीमा आणविक सुरक्षालाई लिएर चिन्ता कायमै ।
पाब्ना (बङ्गलादेश) । बङ्गलादेश आफ्नो पहिलो आणविक ऊर्जा संयन्त्र सञ्चालनको तयारीमा रहँदा दीर्घकालीन विद्युत् अभाव अन्त्य हुने आशा बढेको छ । तर संयन्त्रनजिकै बसोबास गर्ने स्थानीयवासीमा आणविक सुरक्षालाई लिएर चिन्ता पनि कायमै छ ।
ढाकाबाट करिब १५० किलोमिटर पश्चिम पद्मा नदीको किनारमा रहेको १३ अर्ब अमेरिकी डलर लागतको रूपपुर आणविक ऊर्जा संयन्त्र एक दशकभन्दा लामो निर्माणपछि सञ्चालनको चरणमा पुगेको हो । २.४ गिगावाट क्षमताका दुई रिएक्टर पूर्ण रूपमा सञ्चालनमा आएपछि १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशको विद्युत् मागको १० प्रतिशतभन्दा बढी आपूर्ति गर्ने अपेक्षा गरिएको छ । पहिलो रिएक्टर यसै वर्षको अन्त्यसम्म र दोस्रो एक वर्षभित्र सञ्चालनमा आउने अधिकारीहरूले बताएका छन् ।
रुसी राज्य आणविक निगम रोसाटमसँगको सहकार्यमा निर्माण भइरहेको परियोजनाले रूपपुरको ग्रामीण अर्थतन्त्र र जनजीवनसमेत बदलिदिएको छ । हजारौँ रुसी कामदारका कारण आवास, पसल र रेस्टुरेन्ट खुलेका छन् भने बङ्गाली, अङ्ग्रेजी र रूसी भाषामा लेखिएका सङ्केतपाटी देखिन्छन् । स्थानीयवासीले कामदारलाई तरकारी र फलफूल बेच्नेदेखि अन्य व्यवसाय सञ्चालन गर्न थालेका छन् ।
संयन्त्रका अधिकारीहरूले कडा सुरक्षा व्यवस्था अपनाइएको र विगतका आणविक दुर्घटनाबाट सिकिएका पाठलाई परियोजनामा समावेश गरिएको बताएका छन् । १५ वर्षीय मोहम्मद नाफिजले रूपपुर विश्वभर परिचित हुनुमा खुसी लागेको बताउँदै भविष्यमा इन्जिनियरिङ अध्ययनपछि संयन्त्रमा काम गर्ने आशा व्यक्त गर्नुभयो ।
तर ८० वर्षीय मोहम्मद युनुस अलीले घना बस्तीबीच आणविक सुविधा निर्माण गरिएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँका अनुसार केही दिनअघि कम्प्रेसर परीक्षणका क्रममा आएको ठूलो आवाजले सुतिरहेका बालबालिकासमेत डराएका थिए । “म आफ्नो जीवनका लागि डराएको छैन, तर मेरा छोराछोरी र नातिनातिनीको सुरक्षा चाहन्छु”, उहाँले भन्नुभयो ।
रूपपुरमा आणविक संयन्त्र निर्माण गर्ने योजना सन् १९६० को दशकदेखि अघि बढेको थियो । विभिन्न देशसँगको वार्ता असफल भएपछि बङ्गलादेशले सन् २०१५ मा रुससँग सम्झौता गरेको थियो । परियोजनाको मूल लागतको करिब ९० प्रतिशत ऋण रुसी पक्षले उपलब्ध गराउने सहमति भएको थियो भने निर्माण सन् २०१७ मा सुरु भएको थियो ।
कोभिड-१९ महामारी तथा युक्रेनमाथि रुसको आक्रमणपछि लगाइएका प्रतिबन्धका कारण उपकरण आपूर्ति र भुक्तानीमा समस्या हुँदा परियोजना ढिलाइ भएको थियो ।
परियोजनासँग जोडेर भ्रष्टाचारका आरोपसमेत लागेका छन् । अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिना र उहाँका परिवारका सदस्यले भने ती आरोप अस्वीकार गरेका छन् ।
बङ्गलादेशीका लागि भने अहिलेको प्रमुख चासो संयन्त्रबाट भरपर्दो विद्युत् कहिलेदेखि उपलब्ध हुन्छ भन्नेमा छ । ५५ वर्षीया किसान बेली बेगमले नियमित विद्युत् कटौतीका कारण सिँचाइमा समस्या भइरहेको बताउँदै रूपपुर चाँडै सञ्चालनमा आएर आफूहरूले त्यसको पूर्ण लाभ पाउने आशा व्यक्त गर्नुभयो ।
“हामीले २४ घण्टा नै कुनै अवरोधबिना विद्युत् पाउने आशा गरेकी छु”, उहाँले भन्नुभयो । एएफपी
