- नुरी रकेटबाट १५ उपग्रह सफलतापूर्वक प्रक्षेपण ।
- ५७५ किलोमिटर उचाइमा उपग्रहहरू कक्षमा राखिए ।
- दक्षिण कोरियाको अन्तरिक्ष प्रविधिमा महत्वपूर्ण उपलब्धि ।
सियोल । दक्षिण कोरियाले निर्माण गरेको स्वदेशी अन्तरिक्ष रकेट ‘नुरी’ले बुधबार सफलतापूर्वक उडान भर्दै १५ वटा उपग्रहलाई निर्धारित अन्तरिक्ष कक्षमा पुर्याएको छ । यो सफलता दक्षिण कोरियाको अन्तरिक्ष कार्यक्रमका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
तीन चरणमा विभाजित तरल इन्धनबाट चल्ने नुरी रकेटले स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजेर २५ मिनेटमा उडान भरेको थियो । राजधानी सियोलबाट करिब ४०० किलोमिटर दक्षिणपश्चिममा रहेको गोहुङ क्षेत्रस्थित नारो अन्तरिक्ष केन्द्रबाट रकेट प्रक्षेपण गरिएको हो ।
प्रक्षेपणपछि रकेटको उडान निर्धारित योजनाअनुसार अघि बढेको थियो । पहिलो चरण सफलतापूर्वक अलग भएको थियो भने त्यसपछि बाहिरी आवरण र दोस्रो चरण पनि योजनाअनुसार छुट्टिएका थिए । प्रक्षेपणको करिब १२ मिनेट ३० सेकेन्डपछि तेस्रो चरणको इन्जिन बन्द गरिएको थियो ।
त्यसपछि करिब ५७५ किलोमिटर उचाइमा उपग्रहहरूलाई क्रमिक रूपमा निर्धारित कक्षमा राख्ने प्रक्रिया सुरु गरिएको थियो । एउटै उडानबाट धेरै उपग्रहलाई फरक समय र निश्चित क्रममा अन्तरिक्षमा पठाउनुपर्ने भएकाले यस प्रक्रियामा विशेष सावधानी अपनाइएको थियो ।
अभियानको मुख्य उद्देश्य राष्ट्रिय सुरक्षाका लागि पृथ्वीको अवलोकन गर्ने पाँच वटा साना उपग्रहलाई अन्तरिक्षमा पुर्याउनु थियो । ती उपग्रहलाई ३५ देखि ४० सेकेन्डको अन्तरालमा एक-एक गरी सफलतापूर्वक अलग गरिएको थियो । उपग्रहहरूले पृथ्वीको सतहको निगरानी तथा विभिन्न भौगोलिक गतिविधिको अध्ययनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
मुख्य पाँच उपग्रहपछि थप १० वटा साना शैक्षिक तथा व्यावसायिक उपग्रहलाई पनि अन्तरिक्षमा पठाइएको थियो । ती उपग्रहलाई दुई-दुई वटाको समूहमा करिब १० सेकेन्डको अन्तरालमा अलग गरिएको थियो ।
यसअघि नुरीको चौथो उडानमा एउटा मात्र मुख्य उपग्रह पठाइएको थियो । यसपटक भने एउटै उडानबाट १५ वटा उपग्रहलाई निश्चित क्रम, समय र उचाइअनुसार अन्तरिक्ष कक्षमा पुर्याउनुपर्ने भएकाले अभियान थप जटिल र चुनौतीपूर्ण बनेको थियो ।
अभियान पूरा भएपछि नुरीले अन्तरिक्षमा रहेका अन्य वस्तुसँग सम्भावित ठक्कर रोक्न आवश्यक गतिविधि गर्नेछ । त्यसपछि रकेट पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने र घर्षणका कारण जलेर नष्ट हुने जनाइएको छ ।
नुरीको सफल उडानले दक्षिण कोरियाको आफ्नै अन्तरिक्ष प्रविधि विकास गर्ने क्षमता थप बलियो भएको देखाएको छ । साथै, भविष्यमा थप जटिल अन्तरिक्ष अभियान सञ्चालन गर्ने बाटो पनि यस सफलताले फराकिलो बनाएको छ । सिन्ह्वा
