- फ्लाइदुवईका पाइलट स्मित मच्छरको बहादुरीको विश्वभर प्रशंसा
- गम्भीर घाइते हुँदाहुँदै ककपिटको ढोका खोलेर यात्रुको ज्यान जोगाउन सहयोग
- मोदी, नेतन्याहु र ट्रम्पले गरे भारतीय पाइलटको साहसको प्रशंसा
काठमाडौँ । दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाइदुवईको विमानमा सहपाइलटबाट भएको आक्रमणपछि सम्भावित दुर्घटना टार्न महत्वपूर्ण भूमिका खेलेका भारतीय पाइलट क्याप्टेन स्मित मच्छरको विश्वभर प्रशंसा भइरहेको छ ।
फ्लाइदुवईको उडान एफजेड १०७३ मा बुधबार ककपिटभित्र सहपाइलटले क्याप्टेन मच्छरमाथि आक्रमण गरेपछि विमान तीव्र गतिमा तल झरेको थियो । इजरायली अधिकारीहरूका अनुसार विमान दुर्घटनातर्फ जान थालेपछि गम्भीर घाइते मच्छरले ककपिटको ढोका खोल्न सफल हुनुभएको थियो । त्यसपछि यात्रु तथा चालक दलका सदस्यले आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए ।
विमानमा १७४ जना यात्रु तथा चालक दलका सदस्य रहेको र घटनापछि विमानलाई साउदी अरबको तबुकतर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराइएको विवरण सार्वजनिक भएको छ । फ्लाइदुवईले भने घटनालाई ककपिटभित्र भएको ‘सुरक्षा घटना’ तथा चालक दलको हस्तक्षेपबाट सुरक्षित रूपमा विमान अवतरण गराइएको जनाएको छ । घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ ।
मोदी : ‘क्याप्टेन मच्छर एक नायक’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्याप्टेन मच्छरको साहस र जीवन बचाउने दृढ संकल्पको उच्च प्रशंसा गर्नुभएको छ । प्रधानमन्त्री मोदीले गम्भीर अवस्थामा समेत अरूको जीवन जोगाउन उहाँले देखाउनुभएको साहसले ठूलो दुर्घटना टारेको बताउनुभएको छ ।
शुक्रबार प्रधानमन्त्री मोदीले अस्पतालमा उपचाररत क्याप्टेन मच्छरसँग भिडियो कुराकानीसमेत गर्नुभयो । उहाँले पाइलटको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै संकटको क्षणमा देखाउनुभएको धैर्य, साहस र तत्काल निर्णय गर्ने क्षमताको प्रशंसा गर्नुभयो ।
कुराकानीका क्रममा मच्छरले आफू ‘जीवनका लागि संघर्ष गरिरहेको’ अवस्थामा रहेको र सबैलाई मर्न दिन नसक्ने भावनाले ककपिटको ढोका खोल्न सफल भएको बताउनुभएको छ ।
नेतन्याहु : ‘सच्चा नायक’
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि क्याप्टेन मच्छरलाई ‘सच्चा नायक’ भन्दै उहाँको असाधारण साहसको प्रशंसा गर्नुभएको छ ।
नेतन्याहुले गम्भीर रूपमा घाइते भए पनि मच्छरले प्रतिरोध गर्दै ककपिटको ढोका खोल्न सफल भएको र त्यसले यात्रु तथा चालक दललाई आक्रमणकारीलाई नियन्त्रणमा लिन अवसर दिएको बताउनुभएको छ । उहाँले विमानमा रहेका १७४ जनाको जीवन जोगाउन भूमिका खेलेका पाइलट र यात्रुप्रति सम्मान व्यक्त गर्दै मच्छरको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
घटनापछि विमानका यात्रुहरूमध्ये केहीले पनि ककपिटमा पुगेर आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए । त्यसपछि विमानमा रहेका अर्का पाइलटहरूले नियन्त्रण सम्हाल्दै विमानलाई सुरक्षित रूपमा तबुकमा अवतरण गराएका थिए ।
ट्रम्प : घाइते अवस्थामा पनि देखाए असाधारण सुझबुझ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि क्याप्टेन मच्छरलाई ‘नायक’ भन्दै प्रशंसा गर्नुभएको छ । ट्रम्पका अनुसार गम्भीर रूपमा घाइते भए पनि मच्छरले ककपिटको ढोका खोल्न र सहयोगका लागि संकेत गर्न सक्नुभएको थियो ।
ट्रम्पले विमान दुर्घटनाबाट जोगाउन पाइलटले देखाएको सुझबुझको प्रशंसा गर्दै उहाँ निकै खराब अवस्थामा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको बताउनुभएको छ ।
घटनाको पृष्ठभूमि र सहपाइलटको उद्देश्यबारे भने विभिन्न दाबी सार्वजनिक भएका छन् । इजरायली अधिकारीहरूले यसलाई विमान दुर्घटनातर्फ लैजाने प्रयासका रूपमा व्याख्या गरेका छन् भने फ्लाइदुवईले अनुसन्धान पूरा नभएसम्म घटनाबारे थप अनुमान नगर्न आग्रह गरेको छ । सहपाइलटको उद्देश्यबारे अन्तिम निष्कर्ष आउन बाँकी छ ।
क्याप्टेन मच्छर हाल उपचाररत हुनुहुन्छ । उहाँको साहस र तत्काल निर्णय क्षमताका कारण विमानमा रहेका यात्रुको ज्यान जोगिएको भन्दै भारत, इजरायल, अमेरिका तथा अन्तर्राष्ट्रिय समुदायबाट उहाँको प्रशंसा भइरहेको छ । एजेन्सीहरूको सहयोगमा
