RayNewsDaily
अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण, महिला र बालबालिकासहित नौ जनाको मृत्यु
  • हेल्मन्ड र कुनार प्रान्तमा भएको आक्रमणमा ९ जनाको मृत्यु, ११ घाइते ।
  • पाकिस्तानद्वारा २२ आतङ्कवादी मारिएको दाबी ।
  • दुवै पक्षका हताहतसम्बन्धी दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेन ।

काठमाडौँ । पाकिस्तानले अफगानिस्तानका हेल्मन्ड र कुनार प्रान्तमा रातभर गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित नौ जनाको मृत्यु भएको अफगानिस्तानको तालिबान सरकारले जनाएको छ । घटनामा ११ जना सर्वसाधारण घाइते भएको बताइएको छ ।

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आक्रमणमा सर्वसाधारणका तीनवटा घर ध्वस्त भएको बताउनुभएको छ । उहाँले घटनाको निन्दा गर्दै यसलाई आक्रामक कार्य तथा अन्तर्राष्ट्रिय रूपमा स्वीकृत सिद्धान्तको उल्लङ्घन भएको बताउनुभएको छ ।

पाकिस्तानको सूचना मन्त्रालयले भने आतङ्कवादी लुकेका स्थान तथा शिविरलाई लक्षित गरी सुनियोजित हवाई कारबाही गरिएको जनाएको छ । मन्त्रालयका अनुसार प्रारम्भिक विवरणमा २२ जना आतङ्कवादी मारिएका छन् भने लक्षित स्थानबाट ठूलो मात्रामा हतियार तथा गोलाबारुदसमेत नष्ट गरिएको छ ।

कारबाहीका क्रममा सर्वसाधारणलाई क्षति नहोस् भनेर अधिकतम सावधानी अपनाइएको पाकिस्तानले जनाएको छ ।

दुवै पक्षले प्रस्तुत गरेका हताहतसम्बन्धी दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् । पछिल्लो आक्रमण दुई देशबीच सीमापार झडप तथा उग्रवादी गतिविधिलाई लिएर तनाव बढिरहेका बेला भएको हो ।

पाकिस्तानले अफगानिस्तानको तालिबान सरकारमाथि तेहरीक-ए-तालिबान पाकिस्तान (टिटिपी) लगायतका समूहलाई अफगान भूमिबाट सञ्चालन गर्न दिएर पाकिस्तानमा आक्रमण गर्न सहयोग गरेको आरोप लगाउँदै आएको छ । अफगानिस्तानले भने टिटिपीलाई सुरक्षित आश्रय दिएको आरोप अस्वीकार गर्दै आएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मिसनले यस वर्ष सीमापार हिंसाका कारण अफगानिस्तानमा एक हजार एक सयभन्दा बढी नागरिकको मृत्यु तथा घाइते भएको जनाएको छ । पाकिस्तानले भने सर्वसाधारणलाई लक्षित गरी आक्रमण नगरेको र पाकिस्तानमा आक्रमण गर्ने आतङ्कवादीलाई मात्र निशाना बनाइएको बताउँदै आएको छ । (एजेन्सीहरूको सहयोगमा)

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update