- बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीको अवस्था अझै अज्ञात ।
- नेपालमा ५४ युक्रेनीसहित ६३६ विदेशी बेपत्ता ।
- बेपत्ता परिवारद्वारा खोजी र पहिचान प्रक्रिया सुस्त भएको गुनासो ।
बैङ्कक । नेपाल-चीन सीमा क्षेत्रमा विनाशकारी बाढी आएको एक महिना बितिसक्दा पनि ५० भन्दा बढी युक्रेनी नागरिकका परिवार आफ्ना आफन्तको अवस्थाबारे जानकारीको प्रतीक्षामा छन् ।
छत्तीस वर्षीया ओलेना कालिनिचेन्को ५६ जनाको समूहमा हुनुहुन्थ्यो । अधिकांश युक्रेनी नागरिक रहेको उक्त समूह आध्यात्मिक अभ्यासका लागि तिब्बतस्थित कैलाश पर्वत पुगेको थियो । घर फर्कने क्रममा चीनबाट नेपालतर्फ आउँदै गर्दा अगस्ट २६ मा आएको बाढीपछि उनीहरू बेपत्ता भएका हुन् ।
बाढी आउनुभन्दा करिब १५ मिनेटअघि चीनको सीमा चौकीबाट बाहिरिँदै गर्दा कालिनिचेन्को अन्तिमपटक देखिनुभएको थियो । उहाँले चीनबाट किनेको ‘क्रिसान्थेमम’ चिया घर फर्किएपछि साथीसँग पिउने योजना बनाउनुभएको थियो ।
उहाँका साथी ओलेस भिसिचले एक महिनादेखि उहाँको खबरको प्रतीक्षा गरिरहनुभएको छ । “उनले घर फर्किएपछि हामी चिनियाँ फूलबाट बनेको चिया पिउनेछौँ भनेकी थिइन्”, उहाँले भन्नुभयो ।
नेपाल सरकारका अनुसार बाढीमा एक हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने छ हजारभन्दा बढी बेपत्ता छन् । तीमध्ये अधिकांश नेपाली भू-भागतर्फका छन् । नेपालले ५४ युक्रेनीसहित ६३६ विदेशी नागरिक अझै बेपत्ता रहेको जनाएको छ । चीनले आफ्नो भू-भागमा २६१ विदेशी नागरिक बेपत्ता भएको र तीमध्ये एक जना युक्रेनी रहेको जनाएको छ ।
नेपालले हालसम्म एक हजार ४५१ शव फेला पारेको जनाएको छ । तीमध्ये ११२ शव मात्र परिवारलाई हस्तान्तरण गरिएको छ । सरकारले दुई हजार ३५ जना आफन्तबाट डीएनए नमूना सङ्कलन गरेको जनाएको छ । तर, कति शवको पहिचान भइसकेको छ भन्ने विवरण सार्वजनिक गरिएको छैन ।
बाढीका कारण नेपालतर्फको अध्यागमन कार्यालय र अभिलेख नष्ट भएकाले चीनबाट निस्किएका केही व्यक्तिले नेपाल प्रवेश गरे वा नगरेको यकिन गर्न कठिन भएको छ । केही परिवारलाई चिनियाँ अधिकारीहरूले उनीहरूका आफन्त बाढी आउनुअघि नै चिनियाँ भू-भागबाट बाहिरिसकेको बताएका छन् ।
आध्यात्मिक शिक्षिका इरिना ब्लोन्स्कायाको नेतृत्वमा रहेको उक्त समूह तिब्बतबाट बसमार्फत काठमाडौँ आउने र त्यहाँबाट आ-आफ्नो देशतर्फ उड्ने योजनामा थियो । पहाडबाट आएको बरफ, चट्टान, हिलो र पानीसहितको तीव्र भेलले कैलाश जाने तीर्थयात्रीले प्रयोग गर्ने केरुङ बन्दरगाहमा ठूलो क्षति पुर्याएको थियो ।
बेपत्ता व्यक्तिका परिवारले खोजी तथा पहिचान प्रक्रिया निकै सुस्त भएको गुनासो गरेका छन् । नर्वेमा रहेकी भ्लादिस्लाभा होर्लोभाले आफ्नी आमाको खोजीका लागि युक्रेनी दूतावास, नर्वेली प्रहरी र रेडक्रसलगायत संस्थासँग सम्पर्क गर्नुभएको छ । उहाँले प्रहरीलाई डीएनए नमूनासमेत दिनुभएको छ ।
विपद्को एक महिना बितिसक्दा पनि केही परिवारले आफ्ना आफन्त जीवितै भेटिने आशा गरिरहेका छन् । कालिनिचेन्कोका साथी भिसिचले पनि आफू सकारात्मक रहने प्रयास गरिरहेको बताउनुभएको छ । एपी
