RayNewsDaily
ताइवानबारे अमेरिकी नीति स्पष्ट गर्न सीको आग्रह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ह्वाइट हाउसमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गरेपछि ओभल अफिसमा दुई नेताबीच छलफल । तस्बिर : सिन्ह्वा
  • ताइवान स्वतन्त्रताको विरोध गर्न अमेरिकालाई सीको आग्रह ।
  • चीन-अमेरिकाबीच एआई सहकार्य बढाउन जोड ।
  • व्यापार र अन्तर्राष्ट्रिय विषयमा दुई नेताबीच छलफल ।

वासिङ्टन । चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा ‘ताइवान स्वतन्त्रता’ को विरोध गर्न र ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न अमेरिकालाई आग्रह गर्नुभएको छ । उहाँले चीन-अमेरिकाबीच कृत्रिम बौद्धिकता (एआई) लगायतका क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा पनि जोड दिनुभएको छ ।

ह्वाइट हाउसमा भएको वार्तामा राष्ट्रपति सीले दुवै देशले सहयोगलाई प्रमुख आधार बनाउँदै प्रतिस्पर्धालाई उचित सीमाभित्र राख्न, मतभेद व्यवस्थापन गर्न तथा स्थिर सम्बन्ध अघि बढाउनुपर्ने बताउनुभयो । यसै वर्ष मेमा भएको समझदारी कार्यान्वयन गर्दै आर्थिक तथा व्यापारिक सम्बन्ध स्थिर राख्न सहयोगका क्षेत्र विस्तार र विवादका विषय घटाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

एआईका क्षेत्रमा दुवै देशसँग बलियो क्षमता रहेको बताउँदै सीले यसको जोखिम र फाइदाबारे निरन्तर संवाद तथा दुरुपयोग रोक्न संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो । एआई मानव नियन्त्रणमा रहनुपर्ने र मानवकेन्द्रित ढङ्गले विकास गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

ताइवानबारे चीनको राष्ट्रिय एकीकरण र क्षेत्रीय अखण्डताको रक्षा गर्ने अडान स्पष्ट रहेको बताउँदै सीले अमेरिकाले ‘ताइवान स्वतन्त्रता’ को विरोध गर्ने नीतिमा कायम रहनुपर्ने बताउनुभयो । यसबाट चीन-अमेरिका रणनीतिक सहयोग तथा द्विपक्षीय सम्बन्ध विकासका लागि आधार तयार हुने उहाँको भनाइ थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सीको भ्रमणलाई उत्कृष्ट बताउँदै आर्थिक तथा व्यापारिक संवाद जारी राख्नुपर्ने बताउनुभयो । दुवै देशका टोलीबीचको पछिल्लो छलफलबाट नयाँ उपलब्धि हासिल भएको उल्लेख गर्दै उहाँले व्यापार सम्झौता सुधारका लागि वार्ता जारी राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । एआईमा पनि संवाद र सहयोग विस्तार गर्न दुवै नेता सहमत हुनुभएको छ ।

वार्तामा मध्यपूर्व, युक्रेन सङ्कट र कोरियाली प्रायद्वीपको अवस्थालगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा विचार आदानप्रदान भएको थियो । साथै, सन् २०२६ मा हुने एपेक आर्थिक नेताहरूको बैठक र जी-२० शिखर सम्मेलन आयोजना गर्न एकअर्कालाई सहयोग गर्ने सहमति भएको छ ।

राष्ट्रपति सीको तीनदिने अमेरिका भ्रमणका क्रममा भएको यो भेट छ महिनाभन्दा कम अवधिमा दुई नेताबीच भएको दोस्रो भेट हो । एएनआई

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update