RayNewsDaily
चीनमा औद्योगिक रोबोटको हिस्सा ५९ प्रतिशत, एक वर्षमै ३ लाख ५४ हजार जडान
  • विश्वमा जडान हुने औद्योगिक रोबोटमध्ये चीनको हिस्सा ५९ प्रतिशत ।
  • सन् २०२५ मा चीनमा ३ लाख ५४ हजार औद्योगिक रोबोट जडान ।
  • २०२९ सम्म चिनियाँ रोबोट बजारमा वार्षिक ५-१० प्रतिशत वृद्धि हुने अपेक्षा ।

बर्लिन । विश्वमा जडान हुने औद्योगिक रोबोटमध्ये चीनको हिस्सा ५९ प्रतिशत पुगेको छ । ‘विश्व रोबोटिक्स २०२६’ प्रतिवेदनअनुसार सन् २०२५ मा चीनमा तीन लाख ५४ हजार औद्योगिक रोबोट जडान भएका थिए । यो अघिल्लो वर्षको तुलनामा २० प्रतिशत बढी हो ।

फ्र्याङ्कफर्टस्थित अन्तर्राष्ट्रिय रोबोटिक्स महासङ्घ (आइएफआर) का अध्यक्ष जेन हेफनरले एक दशकअघि सुरु गरिएको राष्ट्रिय रोबोटिक्स रणनीतिका कारण चीनले औद्योगिक क्षेत्रको आधुनिकीकरणमा उल्लेख्य प्रगति गरेको बताउनुभएको छ । चीनको १५औँ पञ्चवर्षीय योजना (२०२६-२०३०) ले पनि रोबोटिक्स र कृत्रिम बौद्धिकताको प्रयोगलाई प्राथमिकता दिएको उहाँले उल्लेख गर्नुभयो ।

चीनमा औद्योगिक रोबोटको माग विद्युतीय तथा विद्युतीय उपकरण, मोटर वाहन, धातु र मेसिनरी उद्योगबाट बढी आएको छ । सन् २०२५ मा विद्युतीय तथा विद्युतीय उपकरण उद्योगमा ९६ हजार चार सय, मोटर वाहन उद्योगमा ७८ हजार नौ सय तथा धातु र मेसिनरी उद्योगमा ७८ हजार सात सय रोबोट जडान भएका थिए ।

चिनियाँ रोबोट निर्माता कम्पनीको घरेलु बजारमा हिस्सा पनि बढेको छ । गत वर्ष चिनियाँ कम्पनीबाट आपूर्ति भएका रोबोटको जडान १५ प्रतिशतले बढेर एक लाख ९५ हजार पुगेको थियो । यो कुल जडानको ५५ प्रतिशत हो ।

आइएफआरका अनुसार चीनको औद्योगिक रोबोट बजार अझै सन्तृप्त भएको छैन । सन् २०२९ सम्म बजारमा वार्षिक पाँचदेखि १० प्रतिशत वृद्धि हुने अपेक्षा गरिएको छ । जनसङ्ख्यामा आएको परिवर्तन र श्रमिक अभावले उद्योगमा स्वचालनको माग बढाउने तथा रोबोटको प्रयोगले उत्पादनलाई श्रमिक अभावप्रति थप लचिलो बनाउन सहयोग गर्ने महासङ्घले जनाएको छ । सिह्वा

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update