RayNewsDaily
अमेरिकालाई इरानी राष्ट्रपतिको कडा चेतावनी- ‘घुँडा टेकेका छैनौँ’
  • इरानी राष्ट्रपति पेजेस्कियानद्वारा अमेरिकी आक्रमणको आलोचना ।
  • वार्ता र कूटनीतिका लागि तयार, बल प्रयोगको दबाब नमान्ने स्पष्टता ।
  • गाजा पुनर्निर्माण र हर्मुज जलघाँटीको घटनाबारे पनि चर्चा ।

संयुक्त राष्ट्रसङ्घ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसङ्घको महासभामा बुधबार सम्बोधन गर्दै अमेरिकी आक्रमणको आलोचना गर्नुभएको छ । उहाँले इरानी जनता अमेरिकाको ‘आतङ्कवादको सिकार’ भएको बताउँदै इरान वार्ता र कूटनीतिका लागि तयार रहे पनि बल प्रयोगको दबाब स्वीकार नगर्ने स्पष्ट पार्नुभएको छ ।

करिब सात महिनादेखि जारी युद्धका बीच महासभामा सम्बोधन गर्नुभएका पेजेस्कियानले दिवङ्गत सर्वोच्च नेता अली खामेनी तथा युद्धको सुरुआती दिनमा मारिएका १५० भन्दा बढी विद्यालयका विद्यार्थीका तस्बिर प्रदर्शन गर्नुभएको थियो ।

उहाँले इरानले आफ्नो रक्षा मात्र गरेको दाबी गर्दै आफूहरू आतङ्कवादी नभएको बताउनुभयो । “उनीहरूले हामीलाई प्रहार गरे, तर हामीले घुँडा टेकेका छैनौँ”, उहाँले अमेरिकातर्फ सङ्केत गर्दै भन्नुभयो ।

पेजेस्कियानको सम्बोधन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दिनअघि इरानसँग छिट्टै सम्झौता नभए इस्लामिक गणतन्त्रलाई ‘नष्ट’ गर्न सकिने चेतावनी दिनुभएको पृष्ठभूमिमा आएको हो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि इरानले आणविक कार्यक्रम र आतङ्कवादसम्बन्धी नीतिमा परिवर्तन गर्नुपर्ने बताउँदै अन्यथा सैन्य कारबाहीसहित विभिन्न विकल्प प्रयोग गर्न सकिने बताउनुभएको छ ।

यसअघि ट्रम्पका प्रमुख दूत स्टिभ विटकफ र जारेड कुसनरले इरानी अधिकारीहरूसँग गरेको भेटलाई ट्रम्पले ‘धेरै राम्रो बैठक’ बताउनुभएको थियो । तर इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले त्यस्तो सम्पर्कमा नयाँ कुरा नभएको बताउनुभएको छ । अमेरिकासँग सम्भावित वार्तालाई लिएर इरानभित्रै पनि मतभेद देखिएको छ ।

यसैबीच, अमेरिकी समर्थन प्राप्त ‘बोर्ड अफ पिस’ ले गाजाको पुनर्निर्माण र शासन व्यवस्था अघि बढाउन छ महिनाका लागि दुई अर्ब ४५ करोड अमेरिकी डलरको योजना प्रस्ताव गरेको छ । योजनामा पूर्वाधार, शिक्षा र स्वास्थ्यसम्बन्धी ६६ परियोजना समेटिएका छन् । बोर्डका अनुसार गाजाको पुनर्निर्माणका लागि मध्यम अवधिमा करिब ३५ अर्ब २० करोड डलर आवश्यक पर्नेछ भने आगामी १० वर्षमा थप ७१ अर्ब ४० करोड डलर खर्च हुन सक्नेछ ।

उता, हर्मुज जलघाँटीमा बुधबार अर्को कार्गो जहाज अज्ञात प्रक्षेप्यबाट प्रहार भएको बेलायती समुद्री व्यापार सञ्चालन निकायले जनाएको छ । घटनामा दुई जनाको मृत्यु भएको, आगलागीपछि चालकदलले जहाज छाडेको र जहाज डुबेको जनाइएको छ । युद्धका कारण महत्त्वपूर्ण यस जलमार्गमा व्यावसायिक आवागमनसमेत प्रभावित भएको छ ।

यसैबीच, कब्जामा रहेको वेस्ट ब्याङ्कमा अमेरिकी राजदूत येचिएल लेइटरका छोरा तथा इजरायली सेनाका रिजर्भ सैनिक नेरिया लेइटर गम्भीर घाइते हुनुभएको छ । इजरायली अधिकारीका अनुसार एक प्यालेस्टिनी व्यक्तिले बेइट होरोन नजिकको सुरक्षा चौकीमा कार ठोक्काउँदा उहाँ घाइते हुनुभएको थियो । भाग्न खोज्ने ती व्यक्तिलाई इजरायली सेनाले गोली हानेर मारेको जनाइएको छ ।

अर्कोतर्फ, इजरायलको निर्वाचन आयोगले अर्को महिना हुने संसदीय निर्वाचनमा प्रमुख अरब राजनीतिक दल तथा उम्मेदवारलाई सहभागी हुन अयोग्य ठहर गर्ने पक्षमा मतदान गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीसहित दुई दक्षिणपन्थी दलको अनुरोधमा भएको उक्त निर्णयविरुद्ध रामका नेता मन्सुर अब्बासले सर्वोच्च अदालतमा अपिल गर्ने बताउनुभएको छ । एपी

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update