RayNewsDaily
सी-ट्रम्प भेटमा एआई र अत्याधुनिक चिप्स मुख्य एजेन्डा हुने
 चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । फाइल तस्वीर ।
  • सी-ट्रम्प भेटमा एआई प्रमुख एजेन्डा बन्ने ।
  • अत्याधुनिक चिप्समा अमेरिका–चीनबीच मतभेद ।
  • एआई सुरक्षा र नियमनमा सहकार्यको सम्भावना ।

वासिङ्टन । चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्दा कृत्रिम बौद्धिकता (एआई) दुई देशबीचको प्रमुख चासोका रूपमा रहने भएको छ । एआई विकास, अत्याधुनिक चिप्समा पहुँच र सुरक्षा मापदण्डका विषयमा अमेरिका र चीनबीच प्रतिस्पर्धा तथा मतभेद तीव्र छन् ।

अमेरिका र चीन एआई विकासका प्रमुख शक्ति हुन् । डिपसिक र मुनसट एआईलगायत चिनियाँ कम्पनीका खुला मोडेलले अमेरिकी ओपनएआई र एन्थ्रोपिकका प्रणालीसँग प्रतिस्पर्धा गर्न थालेका छन् ।

चीनको एआई विकासलाई सीमित गर्ने उद्देश्यले अमेरिकाले अत्याधुनिक चिप्सको निर्यातमा नियन्त्रण गर्दै आएको छ । यद्यपि ट्रम्प प्रशासनले केही चिप्सको निर्यातसम्बन्धी नियम खुकुलो पारेको छ भने अन्य प्रविधिमा प्रतिबन्ध कायम राखेको छ ।

एआईको तीव्र विकाससँगै यसको सुरक्षा र नियमनबारे चिन्ता पनि बढेको छ । अमेरिकामा चीनसँगको प्रतिस्पर्धाका कारण एआई विकास सुस्त पार्न नहुने धारणा बलियो छ भने चीनले पनि एआईलाई प्रमुख भू-राजनीतिक प्रतिस्पर्धाको क्षेत्रका रूपमा हेरेको छ ।

आगामी भेटमा एआईसम्बन्धी सीमित सहकार्यको सम्भावना रहे पनि विकासको गति घटाउने वा विश्वव्यापी सुरक्षा मापदण्ड बनाउने विषयमा सहमति जुटाउन कठिन हुने विश्लेषकहरूको धारणा छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले एआईमा अमेरिका र चीन विश्वका पहिलो र दोस्रो प्रमुख शक्ति भएकाले जोखिम नियन्त्रणका उपाय तय गर्न तथा दुवै पक्षबीच नजिकको सम्पर्क आवश्यक रहेको बताउनुभएको छ । एएफपी

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update