RayNewsDaily
बाढी उद्धारमा खटिएका सुरक्षाकर्मीको साहस र समर्पण
  • बाढीपछि दुई दिनमा चार जनाको जीवितै उद्धार ।
  • सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त खोजी जारी ।
  • सुरुङभित्र फसेका दुई प्राविधिकको ११ घण्टापछि उद्धार ।

उत्तम सिल्वाल/काठमाडौँ । भोटेकोशी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पछिल्ला दुई दिनमा चार जनाको जीवितै उद्धार गरेको छ ।

नेपाली सेनाको नेतृत्वमा शुक्रबार माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई कर्मचारी तथा आज एक चिनियाँ नागरिकको उद्धार गरिएको हो । त्यस्तै, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको प्रयासमा नुवाकोटको विदुरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ ।

भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीले धादिङ र चितवनमा सडक तथा पुलसमेत बगाएपछि जनजीवन प्रभावित बनेको छ ।

बाढीपछि जलविद्युत् आयोजनासहित विभिन्न क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी नागरिक सम्पर्कविहीन भएका अवस्थामा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त उद्धार टोली खोज तथा उद्धारमा खटिएको छ ।

रसुवा बाढीपछि उद्धार टोलीको नेतृत्व गरिरहनुभएका नेपाली सेनाका प्रमुख सेनानी गङ्गा बरालका अनुसार माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई प्राविधिक कर्मचारीलाई करिब ११ घण्टाको निरन्तर प्रयासपछि शुक्रबार बिहान जीवितै उद्धार गरिएको थियो ।

सेना नेतृत्वको टोलीले आयोजनामा कार्यरत प्राविधिक सञ्जय साहलाई बिहान करिब ९ः३५ बजे र कवीरजङ्ग महर्जनलाई १०ः०५ बजे उद्धार गरेको थियो । उद्धारमा नेपाली सेनाको ‘स्पेसल फोर्स’ विपद् व्यवस्थापन खोज तथा उद्धार टोली, प्राविधिक इन्जिनियर, नेपाल विद्युत् प्राधिकरणका प्राविधिक कर्मचारी, जलविद्युत् आयोजनाका विज्ञ तथा भौगर्भिक इन्जिनियरसहितको संयुक्त टोली खटिएको थियो ।

यसैगरी, नेपाली सेनाको नेतृत्वमा आज एक चिनियाँ नागरिक तथा सशस्त्र प्रहरी बलको नेतृत्वमा नुवाकोटको विदुरकी चन्द्रिका श्रेष्ठलाई जीवितै उद्धार गरिएको छ ।

हिमपहिरोसँगै ल्हेन्दे खोलामा भदौ १० गते आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि आसपासका घर तथा कार्यालय भवन, विद्युत् केन्द्र, सडक, पुल र जग्गाजमिनमा क्षति पुगेको थियो ।

खोज तथा उद्धारका क्रममा जङ्गी अड्डाबाट प्राप्त निर्देशन तथा विद्युत् आयोजनाका कर्मचारी र विज्ञबाट प्राप्त सुझावका आधारमा उद्धार टोली परिचालन गरिएको प्रमुख सेनानी बरालले बताउनुभयो । उहाँका अनुसार बिहीबार साँझ ६ः०० बजेदेखि त्रिशूली जलविद्युत् आयोजनाभित्र फसेका व्यक्तिको उद्धार सुरु गरिएको थियो ।

प्रमुख सेनानी बरालले दृढ इच्छाशक्ति र स्वच्छ भावनाका साथ काम गरे जस्तोसुकै विषम परिस्थितिमा पनि कठिन काम गर्न नेपाली सक्षम रहेको बताउनुभयो ।

“दृढ इच्छाशक्ति र स्वच्छ भावनाका साथ काम गर्ने हो भने जस्तोसुकै विषम परिस्थितिमा पनि कठिनभन्दा कठिन काम गर्न हामी नेपाली सक्षम छौँ । अहिलेको अकल्पनीय रसुवा बाढीमा पनि खटिएर त्यो प्रमाणित गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले नेपाल सरकारको निर्देशनमा नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहयोग, सहकार्य तथा समन्वयमा खोज तथा उद्धार तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो ।

उहाँले बाढी प्रभावित क्षेत्रमा विशेष उद्धार टोली युद्धस्तरमा परिचालन गरिएको बताउँदै उद्धारमा खटिएका सुरक्षाकर्मीको मनोबल बढाउनु सबैको कर्तव्य भएको उल्लेख गर्नुभयो ।

“युद्धस्तरमा बाढी प्रभावित क्षेत्रमा खटिएको विशेष उद्धार टोलीले दिनरात नभनी काम गरेर मुलुकको फौजी संरचनासहित नेपाल र नेपालीको प्रतिष्ठा बढाउन सफल भएको छ, यसरी खटिने सुरक्षाकर्मीलाई हौसला प्रदान गर्न हामी सबैको कर्तव्य हो”, प्रवक्ता बस्नेतले भन्नुभयो । रासस

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update