RayNewsDaily
तनहुँमा भेटिएका पहिचान नखुलेका शव जङ्गलमा व्यवस्थापन गरिँदै
  • तनहुँमा भेटिएका ३७ शवमध्ये २४ पोखरा पठाइयो ।
  • पहिचानका लागि डिएनए नमुना सङ्कलनपछि शव व्यवस्थापन गरिने ।
  • पहिचान नखुलेका शव व्यास-५ को चैनपुर जङ्गलमा व्यवस्थापन गरिँदै ।

दमौली (तनहुँ) । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका-५ स्थित चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ ।

भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवलाई भविष्यमा समेत पहिचान गर्न सकिने गरी जङ्गलमा व्यवस्थापन गर्न लागिएको हो ।

तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापनअघि कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार शव पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र व्यवस्थापन गरिनेछ ।

तनहुँ क्षेत्रमा हालसम्म ३७ शव भेटिएकामा २४ शव पोखरा पठाइएको छ भने १४ शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ ।

शवसँग सम्बन्धित आवश्यक विवरण र नमुना सुरक्षित राखिने प्रशासनले जनाएको छ । शव व्यवस्थापन संवेदनशील विषय भएकाले स्वास्थ्य, सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढाइएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update