- भोटेकोशी बाढीमा ७६८ जनाको शव फेला ।
- रसुवा-नुवाकोट क्षेत्रमा १ हजार ३२१ जना सम्पर्कविहीन ।
- हालसम्म २ हजार ७१५ जनाको उद्धार ।
रे समाचार/काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको अचानकको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये हालसम्म रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रबाट २ हजार ७१५ जनाको उद्धार गरिएको छ । बाढी प्रभावित विभिन्न जिल्लाबाट आज दिउँसो २ बजेसम्म ७६८ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, चितवनमा २६४, नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १०० र तनहुँमा ३७ जना रहेका छन् ।
१ हजार ३२१ जना अझै सम्पर्कविहीन
जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोट र रसुवा क्षेत्रबाट मात्रै १ हजार ३२१ जना सम्पर्कविहीन छन् । तीमध्ये १ हजार १०९ नेपाली, १५७ विदेशी र ५५ जना पहिचान नखुलेका व्यक्ति रहेका छन् ।
उद्धार गरिएकामध्ये नुवाकोट र रसुवाबाट २ हजार ४५६ जना रहेका छन् । तीमध्ये २ हजार २२५ नेपाली र २३१ विदेशी छन् । उद्धार गरिएकामध्ये ५८ जना घाइते रहेको र उनीहरूलाई अवस्थाअनुसार स्वास्थ्य संस्थामा पठाइएको प्रजिअ रेग्मीले जानकारी दिनुभयो ।
सुरक्षाकर्मी पनि सम्पर्कविहीन
बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका केही कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बल, नेपालका १३ जना कर्मचारी सम्पर्कविहीन छन् ।
बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीनको खोजी तथा उद्धारलाई तीव्र पारिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाललगायतका सुरक्षाकर्मी तथा उद्धार टोली सम्भावित जोखिमयुक्त क्षेत्रमा परिचालन भएका छन् ।
सुरुङमा फसेकाको खोजी तीव्र
माथिल्लो त्रिशूली थ्री ‘ए’ मा सुरक्षाकर्मी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी गरी ८४ जना खोज तथा उद्धारमा खटिएका छन् । थ्री ‘बी’ मा समेत रेकी गरी खोज तथा उद्धार भइरहेको विपद् व्यवस्थापन समितिले जनाएको छ ।
थ्री ‘ए’ को सुरुङभित्र फसेको भनिएकाको उद्धारका लागि सुरुङ भएको स्थान पहिचान गर्ने प्रयास भइरहेको छ । आवश्यक यन्त्र तथा प्रविधिको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको प्रजिअ रेग्मीले बताउनुभयो ।
शव खोज तथा उद्धारका लागि ६०० सुरक्षाकर्मीको संयुक्त टोलीसँगै हेलिकप्टर र तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । त्रिशूली नदीको वारी र पारी गरी ३० स्थानलाई मुख्य आधार क्षेत्र तोकेर खोजी भइरहेको छ ।
सडक खुलाउने र राहत वितरणको काम जारी
बाढीका कारण अवरुद्ध सडक सञ्चालनका लागि काम भइरहेको छ । गल्छी-देवीघाट सडक सञ्चालन गर्न ठूलो खोलास्थित क्षतिग्रस्त पक्की पुल मर्मत भइरहेको छ भने देवीघाटमा बेलिब्रिज जडान कार्य अघि बढाइएको छ ।
ढुङ्गे बजार क्षेत्रमा अवरुद्ध सडक खुलाउन डोजर परिचालन गरिएको छ । ढुङ्गे र त्रिशूली बजार जोड्न तत्कालका लागि तुइन जडानको कामसमेत सुरु गरिएको छ ।
बाढी प्रभावितका लागि राहत वितरणमा एकद्वार प्रणाली अपनाइएको छ । हालसम्म १४० सङ्घसंस्थाले राहत सामग्री उपलब्ध गराएका छन् । प्राप्त राहत सामग्री गोदाममा सङ्कलन गरी आवश्यकताका आधारमा होल्डिङ सेन्टरमा गाडी र हेलिकप्टरमार्फत पठाउने व्यवस्था गरिएको छ ।
बाढीग्रस्त क्षेत्रबाट उद्धार गरिएकालाई गाँसबासको व्यवस्था गर्न १७ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन् । ती सेन्टरमा २ हजार ४०३ जना बसिरहेका छन् ।
यसैबीच, बाढीमा परी घाइते भएका तथा उद्धार गरिएकामध्ये काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत र उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म १६० जना रहेको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।
