RayNewsDaily
क्षेत्रीय शान्ति र स्थिरतालाई कमजोर पार्ने गतिविधि रोक्न फिलिपिन्स र अस्ट्रेलियालाई चीनको आग्रह

पैचिङ । चीनले दक्षिण चीन सागरस्थित रेनआइ रीफ आसपासका समुद्री क्षेत्रमा आफ्नो अधिकार संरक्षण तथा कानुन कार्यान्वयन सम्बन्धी गतिविधि निरन्तर सञ्चालन गरिरहने बताएको छ ।

चीनको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता सिनियर कर्णेल चेन सीले आज सो कुरा बताउनु भएको हो । चीनको राजधानी पैचिङमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चेन सीले फिलिपिन्स र अस्ट्रेलियाका रक्षामन्त्रीस्तरीय बैठकपछि जारी संयुक्त वक्तव्यमा रेनआइ रीफमा हालै चीनको कोस्ट गार्डले गरेको कारबाहीप्रति गम्भीर चिन्ता व्यक्त गरिएको भन्दै सम्बन्धित सबै पक्षलाई व्यावसायिक र सुरक्षित रूपमा काम गर्न आग्रह गरिएको उहाँले बताउनु भयो ।

फिलिपिन्स र अस्ट्रेलियाले चीनविरुद्ध लगाएको आरोप र आलोचनाको कडा विरोध गर्दै उहाँले फिलिपिन्स र अस्ट्रेलियाले चीनमाथि लगाएका आधारहीन आरोप र बदनाम गर्ने प्रयासको चीनले दृढतापूर्वक विरोध गर्ने पनि बताउनु भयो ।

सिनियर कर्णेल चेन सीले रेनआइ रीफमा फिलिपिन्सका तर्फबाट चिनियाँ कर्मचारीमाथि जानाजानी गरिएको उक्साहट तथा आक्रमणका सम्बन्धमा चीनको कोस्ट गार्डले यसअघि नै वक्तव्य जारी गर्नुका साथै प्रमाणहरू सार्वजनिक गरिसकेको जानकारी पनि दिनु भयो । चेन सीका अनुसार चिनियाँ पक्षले त्यसको जवाफमा आवश्यक प्रतिकारात्मक कदम चालेको थियो, जुन व्यावसायिक, संयमित र पूर्ण रूपमा उचित रहेको उहाँको दाबी छ ।

प्रवक्ता चेनले रेनआइ रीफ चीनको नान्शा द्वीपसमूहको हिस्सा चीनको अभिन्न भूभाग भएको दाबीसमेत दोहोर्याउनु भयो । चीनले आफ्नो राष्ट्रिय सार्वभौमिकता तथा समुद्री अधिकार र हितको संरक्षण गर्न आगामी दिनमा पनि अधिकार संरक्षण तथा कानुन कार्यान्वयनसम्बन्धी गतिविधि सञ्चालन गरिरहने उहाँले स्पष्ट पार्नुभयो ।

सिनियर कर्णेल चेन सीले सम्बन्धित देशहरूलाई झूटा भाष्य फैलाउन, टकरावको स्थिती सृजना गर्न, उक्साउन र क्षेत्रीय शान्ति तथा स्थिरतालाई कमजोर पार्ने गतिविधि रोक्न आग्रह गर्नुभएको छ । सिसिटिभी

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update