RayNewsDaily
जासुसी आरोपले चर्कियो चीन-न्युजिल्यान्ड तनाव, बेइजिङद्वारा कडा प्रतिवाद
एआई निर्मित सांकेतिक चित्र ।
  • चीनमाथि व्यापक जासुसी गतिविधि गरेको न्युजिल्यान्डको आरोप 
  • चिनियाँ दूतावासद्वारा आरोप आधारहीन भएको दाबी 
  • सुरक्षा र विदेशी हस्तक्षेपमा दुई देशबीच मतभेद बढ्दो 

वेलिङ्टन । न्युजिल्यान्डको जासुसी निकायले चीनले आफ्नो भूमिमा व्यापक जासुसी गतिविधि सञ्चालन गरिरहेको आरोप लगाएपछि चीनले त्यसलाई आधारहीन भन्दै कडा आपत्ति जनाएको छ । वेलिङ्टनस्थित चिनियाँ दूतावासले उक्त आरोप चीन-न्युजिल्यान्ड सम्बन्ध कमजोर बनाउने प्रयास भएको जनाएको छ ।

न्युजिल्यान्ड सुरक्षा गुप्तचर सेवाले यसै साता सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा चीनले न्युजिल्यान्डविरुद्ध ‘व्यापक रूपमा’ जासुसी गतिविधि सञ्चालन गरिरहेको चेतावनी दिएको थियो । चिनियाँ जासुसले व्यावसायिक सञ्जालमार्फत राज्यका गोप्य सूचनामा पहुँच भएका न्युजिल्यान्डका नागरिकलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

जवाफमा चिनियाँ दूतावासका प्रवक्ताले जासुसी निकाय चीनविरुद्ध ‘आरोप र निन्दाको लहर’ चलाउने अभियानको हिस्सा बनेको आरोप लगाउनुभएको छ । चीनविरुद्ध लगाइएका आरोपले सामान्य आदानप्रदान र सहयोगलाई जासुसी वा हस्तक्षेपका रूपमा चित्रण गरेको तथा कतिपय आरोप पूर्ण रूपमा आधारहीन रहेको उहाँले बताउनुभयो ।

चिनियाँ दूतावासले न्युजिल्यान्डभित्र तथा बाहिर रहेका केही शक्तिले चीन-न्युजिल्यान्ड सम्बन्ध राम्रो दिशामा अघि बढेको देख्न नचाहेको आरोपसमेत लगाएको छ ।

न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्सले चिनियाँ मूलका एक सांसदलाई आफ्नो देश फर्किन आग्रह गरेको विषयमा चीनले औपचारिक विरोध जनाएको केही सातापछि चिनियाँ दूतावासको पछिल्लो प्रतिक्रिया आएको हो । दूतावासले न्युजिल्यान्डका केही अज्ञात समूह तथा व्यक्तिले चीनविरोधी शक्तिलाई सहयोग गरिरहेको आरोपसमेत लगाएको छ ।

न्युजिल्यान्डको जासुसी निकायले चीनसँग सम्बन्धित अर्को गतिविधिबारे पनि चेतावनी दिएको छ । उसका अनुसार चिनियाँ सेनासँग सम्बन्धित पर्पल माउन्टेन वेधशालाले न्युजिल्यान्डमा गोप्य रूपमा भू-आधारित अन्तरिक्ष पूर्वाधार स्थापना गर्ने प्रयास गरेको थियो ।

उक्त परियोजनामा संलग्न न्युजिल्यान्डको एक स्थानीय कम्पनीलाई सैन्य महत्त्वका सूचना सङ्कलन गर्न सकिने सम्भावनाबारे जानकारी नभएको हुन सक्ने जासुसी निकायले जनाएको छ ।

प्रतिवेदनमा पर्पल माउन्टेन वेधशालाले न्युजिल्यान्डमा आफ्नै भू-आधारित अन्तरिक्ष पूर्वाधार स्थापना गर्न खोजेको यो पहिलो घटना नभएको र भविष्यमा पनि त्यस्तो प्रयास हुन सक्ने चेतावनी दिइएको छ ।

चीन र न्युजिल्यान्डबीच व्यापार तथा अन्य क्षेत्रमा सहकार्य रहँदै आए पनि पछिल्लो समय सुरक्षा र सम्भावित विदेशी हस्तक्षेपका विषयमा दुवै देशबीच मतभेद बढ्दै गएको देखिएको छ । एएफपी

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update