- हुथी आक्रमणमा छ जनाको मृत्यु ।
- चार चालक दलका सदस्यसहित उद्धारकर्मी घाइते ।
- साउदीको जाजानस्थित प्रशोधन केन्द्रमा पनि आगलागी ।
यमन । लाल सागरको बाब अल-मन्डेब जलडमरूमा व्यापारिक यमनी मालवाहक जहाजमाथि हुथी विद्रोहीले मिसाइल आक्रमण गर्दा कम्तीमा छ जनाको मृत्यु भएको छ । यमन सरकारका अनुसार खाना ढुवानी गर्ने तिहामा नामक जहाजमाथि तीनवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो ।
यमनको यातायात मन्त्रालयका अनुसार आक्रमणपछि जहाजमा आगलागी भएको थियो । घटनामा चार चालक दलका सदस्यसहित उद्धारकर्मी घाइते भएका छन् । मन्त्रालयलाई उद्धृत गर्दै सीएनएनले मृतकमध्ये तीन जना पाकिस्तानी र एक जना इन्डोनेसियाली नागरिक रहेको जनाएको छ ।
अनुसन्धान तथा उद्धार अभियान सुरु भएपछि पनि हुथीहरूले जहाजमाथि पुनः आक्रमण गरेको जनाइएको छ । दोस्रो आक्रमणबाट उद्धार टोलीसहित जहाजमा रहेका व्यक्तिको जीवन थप जोखिममा परेको बताइएको छ ।
यमनको तटरक्षकले मृतकमध्ये दुई जना उद्धारकर्मी रहेको पुष्टि गरेको छ । प्रारम्भमा यमनी अधिकारी तथा समुद्री सुरक्षा समूहले जहाज साउदी स्वामित्वको रहेको बताएका थिए । तर, समुद्री यातायातसम्बन्धी तथ्याङ्कअनुसार तिहामा तान्जानियाको झण्डामुनि सञ्चालनमा रहेको र इजिप्ट तथा यमनमा दर्ता भएका कम्पनीको स्वामित्वमा रहेको जनाइएको छ ।
यसैबीच, हुथी विद्रोहीले साउदी अरबको जाजानस्थित अरामको प्रशोधन केन्द्रमा समेत आक्रमण गरेको जनाएको छ । हुथी सैन्य प्रवक्ता याह्या सारीका अनुसार साउदी ड्रोन आक्रमणको जवाफमा प्रशोधन केन्द्रलाई लक्षित गरिएको थियो ।
साउदी अरबको ऊर्जा मन्त्रालयले जाजानस्थित प्रशोधन केन्द्रमा आगलागी भएको पुष्टि गर्दै आगो नियन्त्रणमा लिइएको जनाएको छ । एएनआई
