RayNewsDaily
कोलम्बियामा शक्तिशाली भूकम्प : मृतक १३२ पुगे, ५७० जना घाइते
  • भूकम्पमा मृत्यु हुनेको संख्या १३२ पुग्यो ।
  • ५७० जना घाइते, एक हजार ४०० भन्दा बढी बेपत्ता ।
  • खोज तथा उद्धार जारी, देशभर संकटकाल घोषणा ।

रे समाचार/काठमाडौँ । कोलम्बियामा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १३२ पुगेको छ भने ५७० जना घाइते भएका छन् । भग्नावशेषमा अझै ठूलो संख्यामा मानिस फसेको आशङ्का गरिएकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।

सरकारले प्रारम्भिक रूपमा १११ जनाको मृत्यु र ८७ जना घाइते भएको जनाएको थियो । पछिल्लो विवरणअनुसार एक हजार ४०० भन्दा बढी मानिस बेपत्ता भएको विवरण अनलाइन डेटाबेसमा राखिएको छ ।

कोलम्बियन जियोलोजिकल सर्भिसका अनुसार यो २१औँ शताब्दीमा कोलम्बियामा गएको सबैभन्दा शक्तिशाली भूकम्प हो । भूकम्पको केन्द्र राजधानी बोगोटाबाट करिब ४०० किलोमिटर पश्चिममा चोको क्षेत्रको सान होसे डेल पालमारमा १०७ किलोमिटर गहिराइमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ ।

भूकम्पका कारण पश्चिमी कोलम्बियाका काली, पेरेइरा, क्विब्दो र मानिजालेसलगायत सहरमा ठूलो क्षति पुगेको छ । कालीमा कम्तीमा २० भवन पूर्णरूपमा भत्किएका छन् भने ३८० भवनमा क्षति पुगेको स्थानीय अधिकारीले बताएका छन् । पेरेइरामा पनि कम्तीमा १५ भवन भत्किएका छन् भने मानिजालेसको प्रसिद्ध नव-गोथिक क्याथेड्रलको एउटा टावर भत्किएको छ ।

भूकम्पको धक्का छिमेकी इक्वेडर र पानामासम्म महसुस गरिएको थियो । भूकम्पपछि केही घण्टामै कम्तीमा २१ वटा परकम्प गएका थिए । प्रभावित क्षेत्रमा स्वयंसेवक र उद्धारकर्मीले भग्नावशेष हटाउँदै फसेका मानिसको खोजी तथा उद्धार जारी राखेका छन् ।

नवनिर्वाचित राष्ट्रपति अबेलार्दो डे ला एस्प्रियेलाले भूकम्पपछि देशभर संकटकाल घोषणा गर्दै उद्धार तथा राहत कार्यलाई सरकारको पहिलो प्राथमिकता बनाइएको बताउनुभएको छ । उहाँले प्रभावित समुदायलाई सहयोग गर्न राज्यका सबै संयन्त्र परिचालन गरिएको बताउनुभएको छ ।

भूकम्पका कारण पश्चिमी क्षेत्रका केही विमानस्थलको सेवा प्रभावित भएको छ । पेरेइरा, मानिजालेस, क्विब्दो, आर्मेनिया, कार्तागो र बुएनाभेन्तुराका विमानस्थलमा संरचनाको प्राविधिक निरीक्षण भइरहेको छ ।

भूकम्पपछि अमेरिकाले कोलम्बियालाई आपत्कालीन आश्रय, खाद्यान्न तथा उद्धार र राहतका लागि एक करोड ५५ लाख अमेरिकी डलर सहयोग घोषणा गरेको छ । मेक्सिको, इक्वेडर, फ्रान्स, इजरायललगायत देशले पनि उद्धार तथा राहतमा सहयोग गर्ने प्रस्ताव गरेका छन् । (अन्तरराष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा)

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update