RayNewsDaily
असममा बाढीको कहर : ९७ जनाको मृत्यु

• बाढीमा ९७ जनाको मृत्यु ।
• करिब १ लाख ७० हजार प्रभावित ।
• १४ हजार हेक्टरभन्दा बढी बाली नष्ट ।

नयाँदिल्ली । भारतको उत्तरपूर्वी असम राज्यमा आएको भीषण बाढीमा कम्तीमा ९७ जनाको मृत्यु भएको छ । सरकारी तथ्याङ्कअनुसार करिब एक लाख ७० हजार मानिस प्रभावित भएका छन् भने वर्षौंयताकै गम्भीर मानिएको बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ ।

बाढीका कारण हजारौँ मानिस घर छाडेर अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका छन् । बाढीले १४ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिन डुबाएको सरकारी विवरणमा उल्लेख छ ।

सबैभन्दा बढी प्रभावित शिवसागर जिल्लामा घर डुबेका, रुख उखेलिएका तथा सवारीसाधन माटो र बाढीमा पुरिएका दृश्य देखिएको एएफपीले जनाएको छ । कतिपय क्षेत्रमा आवागमनसमेत अवरुद्ध भएको छ ।

असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले बाढीको पानीबाट आफ्नो पाल्तु कुकुर बचाउने क्रममा ज्यान गुमाएका १३ वर्षीय बालकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

भारतका स्वास्थ्यमन्त्री जेपी नड्डाले बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि विपत्तिको क्षति ठूलो रहेको र सामान्य अवस्था फर्किन समय लाग्ने बताउनुभयो ।

असममा मनसुनका बेला हरेक वर्ष बाढी आउने गरे पनि विज्ञहरूले पछिल्ला वर्षमा जलवायु परिवर्तन, अव्यवस्थित पूर्वाधार विकास, वन विनाश र नदीको प्राकृतिक बहावमा आएको परिवर्तनका कारण बाढीको जोखिम झन् बढ्दै गएको बताएका छन् ।

स्थानीय बासिन्दा र अधिकारीहरूले छिमेकी नागाल्यान्डमा भइरहेको अवैध कोइला उत्खननले पनि बाढीको अवस्था थप गम्भीर बनेको आरोप लगाएका छन् । मुख्यमन्त्री शर्माले यस विषयलाई केन्द्र सरकारसमक्ष उठाउने बताउनुभएको छ ।

राहत तथा उद्धार कार्य जारी रहे पनि ठूलो सङ्ख्यामा मानिस विस्थापित भएकाले पुनःस्थापना र कृषि क्षेत्रमा भएको क्षतिको व्यवस्थापन प्रमुख चुनौती बनेको छ । एएफपी

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update